मोहसिन अलि मियाँ/गोरखा
फाल्गुण ९ गते । भुकम्पले भत्काएको मन्दिर पुनःनिर्माणका लागि युवाहरुले सामाजिक सञ्जाल मार्फत अभियान चलाएका छन् । शहिद लखन गाँउपालिका वडा नम्बर ८ बुंकोटमा रहेको महादेव मन्दिर सन्तानेश्वर महादेव पुनःनिर्माणका लागि स्थानीय युवाहरुले फेसबुक मार्फत आर्थिक संकलन गरेका हुन् ।
भुकम्प गएको ३३ महिना बितिसक्दा समेत जिल्लाका धार्मिक सम्पदाहरुको पुनःनिर्माण अघि बढ्न नसकेको अवस्थामा युवाहरुले मन्दिर बनाउनका लागि थालेको अभियानले सार्थकता पाएको छ । १९६८ सालमा निर्माण भएको महादेव मन्दिर २०७२ सालको विनाशकारी भुकम्पले ध्वस्त पारेको थियो ।
तर भुकम्प गएको बर्षौ बितिसक्दा समेत कुनै पक्षबाट मन्दिर पुनःनिर्माणमा चासो नदिएपछि सोही वडा घर भइ मकाउमा कार्यरत युवा अमृतबाबु श्रेष्ठले फेसबुक मार्फत आर्थिक संकलनको अभियान चलाएका थिए । श्रेष्ठले चलाएको सो अभियानमा साथ दिदै देश बिदेशमा बस्ने अन्य युवाहरुले समेत साथ दिएपछि मन्दिर पुनःनिर्माणको काम अघि बढेको छ । फेसबुकबाट चलाएको आर्थिक संकलनको अभियानमा धेरै ब्यक्ति तथा संघसंस्थाहरुले सहयोग गरेको अभियानकर्ता श्रेष्ठले बताएका छन् । हाल सो अभियानमा १२ जना युवाहरु प्रत्यक्ष रुपमा सक्रिय भइ आर्थिक संकलन गरिरहेका छन् ।

‘भुकम्पले मन्दिर भत्केपछि बनाउन कसैले चासो दिएनन्, पुजा आजा नै हुन छोड्यो, अनि हामी युवाहरु मिलेर आर्थिक संकलनको अभियान चलाउका हौ’ महादेव मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष राजनबाबु श्रेष्ठले भने ।
हालसम्म उनिहरुले चलाएको अभियानबाट १५ लाख भन्दा बढि रकम संकलन भइसकेको आर्थिक संकलन समितीका अध्यक्ष उत्तर कुमार श्रेष्ठको भनाई छ । मन्दिर पुनःनिर्माणमा १८ लाख खर्च हुने अनुमान गरिएको छ । मन्दिर संगै दुई वटा पाटी सहित दुइ चर्पी, खानेपानी धारा साथै मन्दिरसम्म जान ७५ मिटर सिढी बाटो निर्माण गर्ने समेत समितीको लक्ष्य छ । हाल मन्दिरको पहिलो ढलान सम्पन्न भइ अन्य काम अघि बढिरहेको उपभोक्ता समितीले जनाएको छ ।

बिशेष गरेर सन्तान नहुनेहरुले यस मन्दिरमा पुजा आजा गरेपछि सन्तान हुने जनविश्वास छ । २६ रोपनी क्षेत्रफल रहेको महादेव मन्दिर क्षेत्रलाई पर्यटकिय हिसावले समेत विकास गर्ने लक्ष्य राखिएको निर्माण समितीको भनाई छ । यस अभियानमा वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष काशीनाथ अम्गाई लगायतले समेत आर्थिक संकलन अभियानमा मुख्य भुमिका खेलेको समितीका अध्यक्ष श्रेष्ठको भनाई छ । ‘हाम्रो यो अभियानमा वडा अध्यक्षहरुबाट पनि राम्रो सपोर्ट भएको छ, बैशाख भित्रै मन्दिर निर्माण सम्पन्न गर्ने भनेर लागेका छौ’




















