गोरखा समाचारदाता
फाल्गुण ८ गते । अहिले जिल्ला सदरमुकाम देखि ग्रामिण बस्ती सबै धुलाम्मे भएका छन् । सदरमुकामको पक्की सडक देखि गाउँका कच्ची धुले सडक सम्मको अबस्था निकै दयनिय छ । ‘हामी त घरमा बस्नै नसक्ने भइसक्यो, धुलोको मुस्लो भान्छादेखि ओछ्यानसम्मै पुग्छ’ गोरखा नगरपालिका ४ का अमृत बानियाँले भने ।
सडकमा सवारी चापबढे सँगै प्रर्दुषण समेत बढेको छ । त्यसमा पनि लामो समय देखिको खडेरीका कारण धुलोले जनजिवन प्रभावित भएको छ । विशेषत गाउँका कच्ची सडकमा धुलोका कारण निकै समस्या भएको छ । ‘गाडी आएको आवाजले भन्दा पहिले धुलो उडेर थाहा पाइन्छ’ सिरानचोक गाउपालिका अन्तर्गतको छोप्राकका हरी पोखरेलले भने ‘बाटोको छेऊ छाऊ बस्न सकिदैन, गाडी आएपछि अर्को तिर भाग्नु पर्छ ।’
धुलोका कारण सहरी क्षेत्रमा व्यापार व्यवसायका साथै ग्रामिण भेगमा घाँसपात र अन्नपात समेत काम नलाग्ने भएका छन । ‘खाना खानेबेलामा पनि थाल छोपेर खानुपर्छ, घरभाडा कुँडा केही काम लाग्ने छैन, कपडा धोएर सुकाउने ठाउँ पाइन्दैन यस्तो भएपछि कसरी वाच्ने ?’ शहिद लखन गाउँपालिका वडा नम्बर ७ की बिभा रानाले दुखेसो गरिन ।
सदरमुकाममा पनि अबस्था उस्तै छ । धुलोका कारण व्यापार व्यवसाय चौपट भएको व्यवासायीको गुनासो गरेका छन । भुकम्प पछिको पुनःनिर्माणका लागि गाउँगाउँमा सवारी साधनको चाप बढेपछि ग्रामिण सडकमा प्रदुषण बढेको हो भने शहरी क्षेत्रमा घडेरी खार्ने कार्य देखि निर्माण सामाग्रीको ओसाप्रसारमा बढेका कारण धुलो उड्ने क्रम बढेको हो ।
लामो समय सम्म पानी नपर्नुका साथै धुलोका कारण बढेको प्रदुषणले गर्दा स्वासप्रस्वास सम्बन्धी समस्याहरु पनि बढेका छन् । बालबालिका, वृद्धवृद्धा तथा दिर्घरोगीहरुलाई समस्या भएको चिकित्सकहरुले बताएका छन् । पानी उमालेर पिउन, हिड्दा मास्क लगाएर हिड्न र खानेकुरा राम्रेरी पखाले खान सुझाव दिएका छन् ।
पटक/पटक नाक मुख र आँखालाई सफा धुनपनि सल्लाह दिएका छन् । धुलोका कारण जनजिवन प्रभावित भएपछि कतिपय ठाउँका स्थानीयले त बिरोध समेत सुरु गरेका छौ ।


