गोरखा समाचारदाता
फाल्गुण ८ गते । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङ्दीका दल बहादुर भुजेलको घर निर्माणका लागि करिब ६ लाख आर्थिक संकलन भएको छ । अपाङ्गगताका कारण परिवार समस्यामा परेको थाहा पाएपछि गोरखा नगरपालिका वडा नम्बर एघार १२ किलोकी रेखा तमाङ्गले सहयोग संकलन अभियान चलाएकी थिइन् । ‘हाल कतारमा रहनुभएका मेरो साथी बिकास थापाले ८९ वर्षका दलबहादुर भुजेल उनका छोराछोरीहरु, देवी भुजेल, चङ्ख भुजेल र रामबहादुर गरी परिवारका सबै सदस्य अपाङ्गता भएका खबर दिनुभयो, म हेर्न गए अबस्था निकै दयनिय रहेछ’ उनले भनिन् ।
उनीहरुको अबस्था बारे बुझ्न फुलेल पुगेकी तमाङ्गले त्यहीँबाट उनीको अबस्थाको बारेमा सामाजिक सञ्जाल मार्फत तस्वीर र भिडियो सार्बजानिक गरिन् । त्यसपछि उनका साथीहरुले देश विदेशबाट जो सकेको रकम पठाउन थाले अनि उनी पनि उत्साहित भइन् ‘म त्यहाँ पुग्दा निकै भावुक समेत भएको थिएँ, त्यहीँबाटै सहयोगी हात बढाइदिन सबैलाई अनुरोध गरे ।’
भएको घर पनि भुकम्पले भत्काएपछि निकै कष्टकर जिवन बिताईरहेको उनको परिवारलाई भुकम्प प्रतिरोधी अपाङ्गमैत्री घरमा सार्ने अठोटका साथ फर्किएकी तमाङ्गले रकम संकलन सुरु गरिन् । ‘स्वदेश तथा विदेशबाट भटाभट रकम आउन थाल्यो अनि २ महिनामा त यति रकम संकलन भइहाल्यो नी ’ उनले थपिन् ।
प्रमुख जिल्ला अधिकारीलाई संरक्षक राखेर राष्ट्रिय वाणिज्य बैङ्कका खाता समेत खोलेकी उनले त्यहाँ संकलन भएको ५ लाख ९९ हजार ८२९ रुपयाँ गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना, वडा नबराज श्रेष्ठ र भुजेलका छिमेकीहरु समेतको उपस्थितीमा सोमबार उक्त रकमको चेक समेत हस्तान्तरण गरेको गोरखा समाचारलाई बताइन् ।
‘अहिले खातामा भएको रकम हामीले हस्तान्तरण गरेका छौ, अब घर निर्माण प्रक्रिया छिटै सुरु हुन्छ ।’ हाल कष्टकर किसिमले टहरामा दिन गुजारीरहेको उक्त परिवारको लागि ४ कोठे पक्की घर निर्माण गरिदिने उनको योजना छ । सोका लागि आवश्यक सबै तयारी समेत भइसकेको उनले बताइन् । ‘डिजाइन, नक्सा सबै रेडी भएको छ, अब काम सुरु गछौं, यति रकम घर त बन्दैन होला, अरु रकम जुट्दै जान्छ ।’
हाल सम्म जम्मा भएको रकम, दलबहादुरले भुकम्पको लाभग्राही भएबापत पाउने ३ लाख अनुदान समेत समेटेर १० लाख लागतमा घर बनाउने तमाङ्गको लक्ष्य छ । यदी रकम बाँकी रहे उनीहरुको भरणपोषणका लागि कोष बनाएर राखिदिने उनले बताइन् ।
८९ वर्षका दलबहादुर उनका छोराछोरीहरु, देवी, चङ्ख र रामबहादुर गरी ४ जनाको परिबारमा सबै शारिरीक रुपमा अशक्त अबस्थामा छन् ।


