मोहसिन अलि मियाँ/गोरखा
फाल्गुण ६ गते । आगामी ७ देखी सुरु हुने पाँचौ गोर्खाली रनिङ कपको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला कै सर्वाधिक राशी पुरस्कार भएको रनिङ कप सञ्चालनको लागि तयारी अन्तिम चरणमा पुगेको आयोजक हरमटारी क्लबले जनाएको छ ।
फाल्गुन ७ गतेदेखि १४ गते सम्म हरमटारी स्थित खेलकुद मैदानमा सञ्चालन हुने फुटबल खेलमा १६ टिमको सहभागिता रहने बताइएको छ । शनिबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै क्लबले यस बर्ष अघिल्लो बर्षहरु भन्दा पृथक रुपमा प्रतियोगिताको ब्यवस्थापन गर्न लागिएको जनाएको छ । ‘हामी यो बर्ष अघिल्लो बर्षहरु भन्दा अलि फरक ढंगबाट खेल सञ्चालन गर्न खोज्दैछौ, त्यसका लागि तयारी पनि भइरहेको छ’ क्लबका सल्लाहकार रञ्जित कुमार श्रेष्ठले भने ।
जिल्लाको सर्वाधिक पुरस्कार राशी २ लाख घोषणा गरिएको पाँचौ गोर्खाली रनिङ कपमा काठमाण्डौ, धादिङ, ललितपुर, चितवन, संखुवासभा, तनहुँ लगायत स्थानीय क्लबहरुले प्रतिष्पर्धा गर्ने क्लबले जनाएको छ । प्रतियोगिताको टाइसिट समेत सार्वजानिक गरिएको छ । जस अनुसार उद्घाटन खेल एफसी रियल्ली काठमाण्डौ र चेपे आदर्श क्लब बिच हुने बताइएको छ ।
‘गोर्खाली कप गोर्खालीको सान, समग्र जिल्लाको खेलकुद विकास गर्ने हरमटारी क्लबको अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिताको यस बर्ष युटुव र फेसबुक मार्फत प्रत्यक्ष प्रशारण गर्ने समेत आयोजकले तयारी गरेको क्लबका जिवन गुरुङले बताएका छन् । प्रतियोगिता सञ्चालनका लागि करिब २५ लाख बराबर खर्च लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ ।
७ गते हुने उद्घाटन समारोहमा प्रमुख अतिथीको भने टुंगो लागिनसकेको आयोजकको भनाई छ । हाल क्लबले खेलकुद मैदानको मर्मत र स्तरोन्नती गर्ने काम गरिरहेको छ ।



