पूर्ण विके
काठमाडौँ — अपांगता भएका छोराछोरीलाई बुवाआमाले रेखदेख, संरक्षण र गन्तव्यसम्म पुर्याउने गरेको त देखिएकै हो । तर, पोखराको इन्द्रचोकका ६ वर्षीय समीर र ९ वर्षीया शीतल गिरीको दैनिकी भने फरक छ ।
सिर्जना चोकको राम आधारभूत विद्यालयमा पढ्ने यी छोराछोरी पिता जीवन गिरीलाई कतै लैजाने र डुलाउने गर्छन् । ४८ वर्षीय जीवनका दुईवटै खुट्टा पोलियोले घुँडामुनि सुकेका छन् । उनी एक्लैले ह्वीलचियरमा गुड्न नसक्ने भएकाले धकेल्न छोराछोरीको सहयोग लिन्छन् ।
दैनिक यसरी नै छोराछोरीसँगै स्कुलको गेटसम्म पुग्छन् । समीर र शीतल कक्षामा गएपछि यताउता बाहिर डुल्छन् । फिर्दा सँगै कोठा आउँछन् । हात र खुट्टाको बलमा घसँ्रदै हिंड्डुल गर्ने उनलाई चार महिनाअघि हरियोखर्क अस्पतालले ह्वीलचियर उपलब्ध गराएको हो । ‘एक्लै पांग्रो तान्नै सक्दिनँ, तान्यो कि पुर्लुक्क लड्छु,’ उनले भने, ‘त्यसैले चार महिनादेखि छोराछोरीले धकेल्दै भनेको ठाममा पुर्याउने गरेका छन् ।’ उनको तौल जम्मा ३३ किलो छ । कम्मरभन्दा तल भार नहुँदा सन्तुलन नमिलेकाले एक्लै ह्वीलचियर चलाउन नसक्ने उनले बताए ।
छोराछोरी स्कुल गेटबाट भित्र पसेपछि उनी ह्वीलचियरबाट ओर्लन्छन् र हातले घसँ्रदै यताउता गर्छन् । ‘घस्रिँदा हेरिनसक्नु हुने भएकाले हातले भात खान्नँ,’ उनले भने, ‘तातोपानीले हात धोए पनि चम्चाले खान्छु ।’
जीवनकी ३५ वर्षीय पत्नी लक्ष्मी दैनिक २/३ वटा घरमा सरसफाइको काम गर्ने र त्यसैबाट आउने पारिश्रमिकले पेटपाल्दै आएको उनले सुनाए । ‘म हिंड्डुल गर्न सक्दिनँ ।
जहानले काम गर्छिन्,’ उनले भने, ‘त्यसैले गुजारा चलाउँछौं ।’ पत्नी लक्ष्मीले सरसफाइ गर्ने घरमा नै उनीहरूले आश्रयलिएका छन् । बुवासँगै विद्यालयसम्म जाँदा आफूहरूलाई पनि सडक पार गर्न सजिलो हुने गरेको छोरी शीतलले बताइन् । स्याङ्जाको पुतलीबजारमा जन्मिएका जीवन १३ वर्षमा पोलियोबाट थलिएका हुन् ।
kantipurdaily




















