गोरखा समाचारदाता
पुुस १७ गते । भुम्लीचोककी सम्झना चेपाङ कक्षा ३ मा पढ्छिन् । जाडो लागे पछि उनलाई स्कूलजानै मन लाग्दैन् । ‘लुगापनि छैन्, स्कूलमा जाडो हुन्छ’ उनले भनिन् । सोही ठाउँका दिवश प्रजालाई पनि जाडोले निकै सताउँछ । बिहान बेलुका पढ्न भन्दा आगो तापेर बस्न उनलाई मन पर्छ । गण्डकी गाउँपालिका वडा नम्बर ६ हिक्लुङ्गका चेपाङ बालबालिकाहरुको समस्या हो यो । सम्झना र दिवश मात्र होइन त्यहाँ ९० भन्दा बढि घर धुरीका बालबालिकाहरुलाई यति बेला जाडोले निकै सताएको छ ।
अति सिमान्तकृत समुदायका बालबालिकाहरु एकसरो कपडाले बर्षेनी कठ्याग्रिदो जाडो झल्न बाध्य छन् । गरिबीका कारण उनीहरुका बाबु आमाले न्यानो कपडा किनिदिन सक्दैनन् । त्यही समस्या झेलि हरेका बालबालिकाहरुलाई काठमाण्डौमा अध्ययन र विभिन्न पेशाव्यवसायमा आवद्ध युवाहरुको एक समूहले सहयोग गरेको छ ।
उनीहरुले चेपाङ बालबालिकाहरुलाई वितरण गर्नका लागि काठमाण्डौका कपडा व्यवसायीसँग संकलन गरेको न्यानो कपडा आइतबार हिक्लुङ्गका १ सय २८ जना बालबालिकाहरुलाई बितरण गरिएको छ । प्रगतिशिल समाज नामक सस्थामा आवद्ध युवाहरुले गाउँमै पुगेर कपडा विरतरण गरेपछि बालबालिकाहरु निकै खुसि भएका थिए । ‘यस पालीको जाडो हामी सबै मिलेर कटाऔं भन्ने साथीहरु विच एउटा योजना बनाएका थियौं, सोही अनुरुप हामीले सो सहयोग गरेका हौं’ समाजका अध्यक्ष राज केसीले भने ।
काठमाण्डौमा संकलन गरिएको ज्याकेट, स्वीटर, सुरवाल, टोपी, मोजा, पन्जा लगायतको न्यानो कपडा सहयोग गरिएको प्रगतिशिल समाजले जानकारी दिएको छ । उक्त टोलीले छिमेकी जिल्ला चितवनको टोलाङमा पनि लत्ताकपडा बितरण गरेको छ ।
त्यहाँ पुगेका युवाहरु सामू स्थानियले स्वास्थ्य शिविरको माग गरेका छन् । गाउँ देखि स्वास्थ्य सस्था टाढा रहेकाले उनीहरुले गाउँमै डाक्टर ल्याएर शिविर गराइदिन माग गरेका हुन् । गोरखाको दक्षिण भेग छिमेकी जिल्लाहरु चितवन, धादिङ र मकवानपुरमा चेपाङहरुको बासस्थान रहेको छ ।


