- गठबन्धन एकदलिय तानासाही प्रवृतिका साथ अगाडी बढेको : भट्टराई
- बाबुराम भट्टराईले अब गोरखाली जनताको प्रतिनिधित्व गर्न नसक्ने : श्रेष्ठ
नरेन्द्र ढकाल/गोरखा
कात्र्तिक ७ गते । पहिलो चरणको प्रतिनिधी सभा निर्वाचनमा सर्बाधिक चर्चामा रहेको गोरखा क्षेत्र नम्बरका दुईका उम्मेदवार बीचको जुहारी सुरु भएको छ । मनोनय दर्ता गरेको भोलिपल्ट काँग्रेस,नयाँ शक्ति र राप्रपा गठबन्धनका उम्मेदवार डाक्टर बाबुराम भट्टराई र बाम गठबन्धनका नारायणकाजी श्रेष्ठले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी एकअर्का प्रति आरोप प्रत्यारोप सुरु गरेका हुन् ।‘गोरखा २ मा मैले विरुवा रोपेको छु, त्यसलाई हुर्काउन र बढाउन अरुले सक्दैन यहाँ मेरै नेतृत्व आवश्यक छ त्यसैले उम्मेदवारी दिएको हुँ’ डाक्टर भट्टराईले भने । पहिले सुरु गरेका पुरा गराउनका लागि गोरखा क्षेत्र नम्बर २ रोजेको भट्टराईले दाबी गरे । अर्थमन्त्री र प्रधानमन्त्री रहँदा सुरु गरेका बिकास निर्माणका कामलाई पूरा गराउन पनि गोर्खाली जनताले आफुलाई भोट दिने उनको तर्क छ । गोरखाबाटै बिकास समृद्धिको झलक देशभर फिजाउने भट्टराईले बताए ।

यता बाम गठबन्धनका तर्फ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराईले अब गोरखाली जनताको प्रतिनिधित्व गर्न नसक्ने दाबी गरेका छन् । ‘उहाँ जस्तो अस्थिर मान्छेले गोरखाली जनताको प्रतिनिधित्व सक्दैन’ पत्रकार सम्मेलन गर्दै श्रेष्ठले भने ‘अबको आवश्यकता पुरा गर्नका लागि स्थिर, बहुमतको सरकार बनाएर यो देशलाई समृद्ध नेपाल बनाउने हामीले मात्र सक्छौ उहाँले केही गर्न सक्नु हुन्न् ।’ त्यसका लागि आफूले गोरखा छनौट गरेको उनको भनाई छ ।

बाम गठबन्धनमा निषेधको राजनिति हाबी भएकाले आफू बाहिरिएको बताउँदै डाक्टर भट्टराईले उक्त गठबन्धन एकदलिय तानासाही प्रवृतिका साथ अगाडी बढेको आरोप लगाए ।‘अब निषेधको राजनितिले निकास दिन सक्दैन्, उहाँहरुमा रहेको अतिवादी सोच अन्त्य हुनुपर्छ’ नयाँ शक्ति नेपालका संयोजक समेत रहनुभएका डाक्टर बाबुराम भट्टराईले भने ‘उहाँहरु रुपान्तरित हुनुहुन्छकी भने हामी गठबन्धनमा सामेल भएका थियौ, त्यहाँ त झन तानाशाही प्रवृत्ति देखियो, अट्न सकिएन ।’ नयाँ शक्ति पार्टीको बैचारिक लाईन स्पष्ट नभएको भन्ने आलोचनालाई पनि भट्टराईले चिर्ने प्रयास गर्दै नयाँ शक्ति पार्टी बाम लोकतान्त्रिक पार्टी भएका पटक पटक दोहो¥याएका थिए ।
अहिले बनेको बाम गठबन्धन निर्वाचन जित्न र सत्तामा पुग्न मात्र बनाईएको भट्टराईले आरोप लगाएका छन् ‘चुनाव जित्न र सत्तामा पुग्नका लागि मात्र उहाँहरु मिल्नु भएको हो बाम एकता हुन सक्ने कुुनै आधार छैन ।’ आफूले काँग्रेसको जरा उखेल्नु पर्छ भनेर कहिल्यै नभनेको भन्दै उनले सामाजिक सञ्जालहरुमा भ्रम फैलाइएको प्रति दुखः समेत ब्यक्त गरे ।
आफ्नै प्रवृतिका कारण बाम गठबन्धनबाट डाक्टर भट्टराई बाहिरिएको तर्क गर्दै माओवादी नेता श्रेष्ठले अब उहाँलाई जनताले भोट नहाल्ने दाबी गर्नुभयो । ‘बाबुराम जी आफ्नै कारणले बाहिरिनु भएको हो, यस्तो अस्थीर मान्छेले अब केही गर्न सक्दैनन, त्यो सबै जनताले बुझेका छन्, चुनाव मैले बहुमतले जित्छु’ श्रेष्ठले भने । गोरखालाई आर्थिक विकासको केन्द्र बनाउन उत्तरी चिनसँगको नाका खोल्ने देखि यहाँका आर्थिक रुपान्तरणका सडक, कृषि, पुर्वाधार विकासमा काम गर्ने श्रेष्ठको योजना छ ।
डाक्टर भट्टराई भने आफु सत्तामा रहँदा जिल्लाका बिकास खाका नै सार्वजानिक गरी महत्वपुर्ण सडक, खानेपानी, जलविद्युत लगायतका पुर्वाधार विकासमा समेत काम सुरु गरिसकेको भन्दै त्यसलाई नै पुरा गराउने योजना अगाडी सारेका छन् । दुबै नेताले केही दिन भित्र आ–आफ्नो चुनावी घोषणापत्र सार्वजानिक गर्ने बताएका छन् ।


