मोहसिन अलि मियाँ/गोरखा
कात्र्तिक १ गते । आगामी मंसिर १० र २१ गतेको प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागि सरकारले माग गरेको म्यादी प्रहरीमा युवाको आकर्षण बढेको छ । असोज २४ गते देखि ३० गतेसम्म म्याद तोकेर माग गरिएको म्यादीका लागि जिल्ला प्रहरी कार्यालय गोरखामा युवाहरुको भिड लागेको हो ।
आसन्न प्रतिनिधी र प्रदेश निर्वाचनका लागि गोरखामा आवस्यकता भन्दा झण्डै दोब्बरको आवेदन परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोरखामा १ हजार ८ सय ५८ जना म्यादीको माग भएपनि ३ हजार २ सय ८८ जनाले आवेदन बुझाएका कार्यालयका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताएका छन् । ‘हामीलाई चाहिएको भन्दा झण्डै दोब्बरले आबेदन बुझाएका छन्, केहि दिनपछि छनौट प्रक्रिया सुरु हुन्छ’ उनले भने ।

म्यादीका लागि आबेदन बुझाउनेहरुलाई केही गुनासो वा प्रवेश पत्र लिन बाँकीका लागि प्रहरी कार्यालयले बुधबार सम्पर्कमा आउन समय तोकेको छ । आवेदन बुझाउने मध्ये गत बैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनमा म्यादी प्रहरीको अनुभव लिइएका ३ सय ९५ जनाको आवेदन परेको प्रहरी निरिक्षक उपाध्यायले बताएका छन् । त्यस्तै ३४ जना पूर्व नेपाली सेना, १५ जना पूर्व प्रहरी र १ जना प्रर्व शसस्त्र प्रहरीले आवेदन बुझाएको प्रहरी कार्यालय गोरखाले जनाएको छ । आबेदन बुझाउनेहरु मध्ये महिलाको संख्या भने न्युन रहेको कार्यालयले जनाएको छ । २ हजार ६ सय १० पुरुषले म्यादी प्रहरीका लागि आबेदन बुझाउदा ६ सय ७८ जना मात्र महिलाले आबेदन फारम भरेका छन् ।
प्रक्रिया र विवरण पुगेकाहरुलाई छनौट परीक्षामा सहभागी गराइने प्रहरी निरिक्षक उपाध्यायले बताए । ‘आबेदन बुझाउनेहरुलाई आउदो ५ गते देखि ८ गतेसम्म फिजिकल छनौटमा लैजान्छौ, अनि त्यसमा पास हुनेलाई मात्र लिखित र मौखिकमा लैजान्छौ’ २४ बर्ष देखि ५४ बर्षसम्मका योग्य नेपालीहरुले आबेदन दिन सक्ने भन्दै माग गरिएको म्यादी प्रहरीको अबधी ५५ दिनको हुने बताइएको छ । देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै आवेदकको संख्या बढेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

म्यादी प्रहरी भएर भए पनि देशको सेवा गर्ने मौका आएको भएकाले आवेदन दिन आएका २४ बर्षिय सबिन थापाले बताएका छन् । ‘विगतमा पुलिसको जागिर खान गइयो तर छनोटमा परिएन । अब म्यादीमा परिन्छ कि ? ’, उनले भने, ‘जीवनमा बर्दी लगाउन ठूलो रहर छ ।’ म्यादी प्रहरीमा भर्ना हुन आउनेमा लामो समय विदेश बसेर फर्केका समेत छन् । उनीहरूले नेपालमै सानो भए पनि दिगो रोजगारीको अवसर सृजना हुने अबस्था भए कुनै युवा विदेशिनु नपर्ने तर्क गर्छन् ।
लामो समय विदेशमा बसेका भिमसेन गाँउपालिका ६ का अमृत श्रेष्ठले पनि म्यादी प्रहरीको आवेदन दिएका छन् । ‘धेरै बर्ष बिदेशमा बसियो, अहिले त्यस्सै घरमा बसिराको थे, म्यादी खुलेको छ भन्ने सुनेर निबेदन दिन आको, पुलिसको अनुभव पनि हुने धेरैथोरै पैसा नि हुने’ श्रेष्ठले भने ।




















