नरेन्द्र ढकाल/गोरखा
असोज २९ गते । बाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईलाई क्षेत्र नम्बर २ छोड्ने काँग्रेसका नेताहरुले संकेत गरेका छन् । गोरखा समाचारसँग कुराकानी गर्दै काँग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे भने‘त्यो अनौठो कुरा होइन सम्भावना छ ।’बाम गठबन्धनले गोरखा २ मा टिकट नदिने निश्चित भएपछि रिम्तिएर काँग्रेससँग गुहार माग्न पुगेका भट्टराईलाई क्षेत्र नम्बर २ छोड्ने संकेत काँग्रेसको छ । बाम गठबन्धन भएपछि काँग्रेसले दुई वटै प्रतिनिधि सभा र ४ वटै प्रदेश सभा निर्वाचनमा हार्ने सक्ने आंकलन भईरहेका बेला नयाँ शक्तिसँग मिलेर बाम गठबन्धनलाई काउन्टर दिने तयारीमा नेपाली काँग्रेस लागेको श्रोतको दाबी छ ।

‘म त दिनभर एनआरएनएको कार्यक्रममा थिए, के छलफल भयो त्यो मलाई थाहा छैन्, बाबुरामजीलाई २ नम्बर दिन सकिन्छ भन्ने मेरो पनि मत हो’ पाण्डेले भने । आफै चुनाव लड्ने तयारी गरेका पाण्डेको बोलि फेरिएको प्रति संकेत गर्दै गोरखा समाचारले जिज्ञासा राख्दा घुमाउरो पारामा आफू पनि उम्मेदवार भएको उनले बताए । ‘हो म पनि त्यहाँको एक जना उम्मेदवार हो, को कहाँबाट उठ्ने भन्ने कुरा पार्टीले डिसिजन गर्न बाँकी छ, हामी छलफल मै छौ’ पाण्डेले भने । क्षेत्र नम्बर १ मा प्रत्यक्ष चुनाव लड्ने वा समानुपातिकमा उम्मेदवार बन्ने उक्त कुरा भने उनले खुलाएनन् ।
पटक/पटक चुनाव जितेर राष्ट्रिय राजनितीमा प्रभाव जमाएकी नेपाली काँगे्रसकी नेतृ केन्द्रिय सदस्य कमला पन्तले पनि प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा डाक्टर भट्टराईलाई छोड्ने संकेत गरेकी छिन् ।‘अहिले सम्म म औपचारिक छलफल सहभागी त भएको छैन्,यदी पार्टी निर्णय गर्छ भने त्यो कुरा त्यत्ती अप्रिय हुँदैन भन्ने लाग्छ’ पन्तले भनिन् ।डाक्टर भट्टराई र काँग्रेस सभापती शेरबहादुर देउवा विच शनिवार पनि बालुवाटारमा छलफल भएको नेताहरुले बताएका छन् ।
काँग्रेसका जिल्ला स्तरका अधिकाशं नेताहरुले पनि भट्टराईलाई क्षेत्र नम्बर २ छोड्ने संकेत गरेका छन् । केहीले भने गठबन्धनबाट टिकट नपाएपछि काँग्रेस सामु गुहार माग्न आएका भट्टराईलाई काखी च्यापिए गम्भिर गल्ती हुने दाबी गरेका छन् । ‘आफु जित्दिन भनेर कहिले बाम एकता भन्दै हिड्ने, कहिले काँग्रेसको फेरो समाउदै आउने त्यस्ता अबसरबादीलाई सहयोग गरे काँग्रेसले ऐतिहासिक भुल गर्छ’ नाम नबताउने सर्तमा काँग्रेस गोरखाका एक प्रभावशाली नेताले भने ।
बाबुरामलाई अहिले सहयोग गरे पनि पछि गठबन्धन तिरै मिल्न जाने भन्दै, काँग्रेसले भट्टराईलाई जिताउनुको अर्थ नभएको उनको तर्क छ ।‘अहिले काँग्रेसले जितायो, भोली फेरी हामीलाई लात हानिहाल्छन्, त्यस्ता अबसरबादीलाई के सहयोग गर्नु ?’ उनले थपे । यदी पार्टीले बाबुरामलाई सहयोग ग¥यो भने नेपाली काँग्रेसका कार्यकताले भोट नहाल्ने उनको दाबी छ ।

यता नयाँ शक्ति पार्टी नेपालले पनि काँग्रेससँग सहकार्यको नजिक पुगेका बताएको छ । ‘हामी मिले सम्म देशभर, त्यति पनि नभएर ४ नम्बर प्रदेश, यदी त्यो पनि हुन नसके गोरखामा मात्रै भए पनि काँग्रेससँग तालमेल गर्ने निर्णयमा पुगेका छौ’ नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक रमेश पोखरेलले भने । काँग्रेसका जिल्ला तहका नेताहरुले भने औपचारिक प्रतिक्रिया दिन इन्कार गरिरहेका छन् । डाक्टर बाबुराम भट्टराईले २ पटक चुनाव जितिसकेकाले नयाँ शक्ति सँगको तालमेलले राष्ट्रिय राजनितिमा उल्लेख्य प्रभाव नपारे पनि गोरखाको परिणाम फेरबदल हुन सक्ने केही नेता कार्यकताको दाबी छ ।
गोरखाको उम्मेदवार छनोटले राष्ट्रिय राजनिती पनि तातिएको छ । बाम गठबन्धनबाट क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र १ मा सोही पार्टीका ४ नम्बर प्रदेश इन्र्चाज हरि अधिकारीको नाममा लगभग सहमती भईसकेको नेताहरुले बताएका छन् । क्षेत्र नम्बर २ मा जिल्ला इन्र्चाज एवं प्रचण्डका पूर्व स्वकिय सचिव चुणामणी खड्काको पनि दाबी छ । उनी नारायणकाजीलाई अयन्त्रबाट उठाएर आफू त्यहाँ उम्मेदवार बन्ने कसरतमा लागेको माओवादी केही नेताहरुले बताएका छन् ।
हालका सांसद हितराज पाण्डे, छम बहादुर तमु र कृष्ण धिताल अहिले ओझेलमा देखिएका छन् । काँग्रेसले क्षेत्र नम्बर १ मा युवा नेता राजेन्द्र बजगाइँलाई उठाउन सक्ने अडकलबाजी छ ।


