गोरखा समाचारदाता
असोज २९ गते । गोरखामा पहिलो पटक ‘मिस गोरखा–२०१७’ हुने भएको छ । शौन्दर्य कला ब्यवशायी संघ गोरखाको आयोजनामा हुन लागेको मिस गोरखालाई ‘ब्यूटी विथ बे्रन’ नाम दिएको आयोजकले जनाएको छ । सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संघकी अध्यक्ष सुकु श्रेष्ठले १६ देखि २४ वर्ष उमेर भित्रका युवतीहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गर्न लागेको बताएको छ ।
पहिलो पटक हुदै गरेको मिस गोरखाले जिल्लाका युवतीहरु भित्र लुकेको क्षमता प्रष्फुटन हुनेमा आयोजक विश्वस्त रहेको बताएको छ । यसले ब्यक्तित्व विकास, नेतृत्व बिकास र आत्माविश्वासलाई बढाउन सहयोग पुग्ने पनि उनिहरुको तर्क छ । प्रतियोगितामा सहभागी हुन कम्तिमा एसएलसी उत्तिर्ण गरेको हुनु पर्ने र जिल्लावासी हुनुपर्ने संघका प्रमुख सल्लाहकार भाइचन्द्र श्रेष्ठले बताएका छन् ।
मिस गोरखा सञ्चालनका लागि निर्णायक भने बाहिरबाट ल्याउने तयारी भइरहेको सल्लाहकार श्रेष्ठको भनाई छ । अन्य जिल्लामा यस्ता प्रतियोगिता हुने गरेको भएतापनि गोरखामा भने अहिले सम्म सुरुवात नभएकाले संघले जिल्लाको पहिचान र प्रचारका लागि पनि मिस गोरखा २०१७ आयोजन गर्न लागेको अध्यक्ष श्रेष्ठले बताउकी छिन् ।
मिस गोरखा गर्ने मिति, स्थान र सहभागीको संख्या यकिन भैनसकेको उनको भनाई छ ।


