आश्विन २०, २०७३- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले समयसीमा तोकेर ९ महिनाको लागि निर्माण भएको नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारको जग बलियो नभएको बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति भक्तपुरको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै खनालले संविधान कार्यान्वयन गर्न र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नका लागि एमालेसहित प्रमुख दल सहमतिमा आउनुको विकल्प नभएको उल्लेख गरे ।
‘संविधान कार्यान्वयन गर्नको तीनवटा निर्वाचन गर्नुपर्ने भएपनि वर्तमान सरकारले कार्य तालिका नै प्रस्तुत गर्न नसक्नु गलत हो,’ खनालले भने ।
कार्यक्रममा उनले संविधान कार्यान्वयन कांग्रेस–माओवादी केन्द्र गठबन्धनले मात्र सम्भव नभएको बताए । ‘मुख्य तीनदल मिलेर संविधान घोषणा भएकाले यो कार्य पुरा गर्न मुख्यदल मिल्नुको विकल्प छैन’, उनले भने ।
एमालेभित्र मौलाएको गुटबन्दी महारोगका रुपमा विकास भएकाले पार्टीको स्थायी समिति बैठकले गुटबन्दी अन्त्यका लागि नीति तयार पारेको बताए ।
ekantipur


