भाद्र २५, २०७३- १० दिनदेखि हवाईमा जारी अन्तर्राष्टिय प्रकृति संरक्षण संघ (आईयुसीएन) को विश्व सम्मेलनले चार वर्षका नयाँ नेतृत्व चयन गरेको छ ।
मंगलवारदेखि सुरु भएको निर्वाचनले चार वर्षका लागि अध्यक्षमा चीनका जिनसेंग झांग र कोषाध्यक्षमा प्याट्रिक डे हेने निर्वाचित भएका हुन् । दुबै जनाको यो दोस्रो कार्यकाल हो । निर्वाचन मण्डलका प्रमुख एवं हवाईका पूर्वन्यायाधीश माइकेल डि विल्सनले हवाई कन्भेन्सन सेन्टरमा निर्वाचित मण्डलका सदस्यहरुको नाम घोषणा गरेका थिए ।
नेपाली समय अनुसार शनिवार सम्पन्न निर्वाचनबाट दक्षिण तथा पूर्वी एसियाको क्षेत्रीय काउन्सलरका लागि नेपालका मंगलमान शाक्यसहित अन्य मुलुकका ५ जना निर्वाचित भएका छन् । शाक्य वाईल्डलाइफ वाच ग्रुप (डब्लुडब्लुजी) का अध्यक्ष हुन् । चारवर्ष अघि दक्षिण कोरियाको जेजु सहरमा भएको आईयुसीएनको विश्व सम्मेलनबाट डा.आरजु राणा देउवा काउन्सरलमा निर्वाचित भएकी थिइन् ।
१९२ देशमा आईयुसीएनका १ हजार ३ सय सदस्य छन् । ती मध्ये यो सम्मेलनमा १२ सय उपस्थित थिए । तर, यहाँ ८० प्रतिशत (करिब ९ सय ६०) मत खसेको थियो । सम्मेलनमा नेपालबाट सरकार (वन मन्त्रालय) र वातावरणमा काम गर्ने विभिन्न संस्थाका गरी २० भोट थियो ।
यस्तै, एसिया प्यासिफिक क्षेत्रिय समितिको सचिवमा वातावरण संरक्षण शिविर (एक्का) का प्रमुख कार्यकारी अधिकृत योगेन्द्र चित्रकार निर्वाचित भएका छन् । यसैगरि आईयुसीएन कार्यक्रम समिति सदस्यमा नेपाल वातावरण पत्रकार समूह (नेफेज)का अध्यक्ष सहजमान श्रेष्ठ निर्वाचित भएका छन् । समितिमा श्रेष्ठसहित सात देशका सदस्य छन् ।
दक्षिण तथा पूर्वी एसियाको काउन्सलर पदमै मलेसियाका अमरन हम्जा, पाकिस्तानका पूर्व वातावरण राज्यमन्त्री मालिक अमिन अस्लम खान, जापानका मासाहिको होरे र कोरियाका युंगबे शूले पनि जितेका छन् । पाँचै जनाले ५१ प्रतिशत मत हासिल गरेपछि उनीहरुलाई निर्वाचित गरिएको हो । सदस्यमै उम्मेदवारी दिएकी भारतकी मिना गुप्ताले भने स्वास्थ्यको कारण देखाएर उम्मेवारी फिर्ता लिएकी थिइन् । आईयुसिएनमा अध्यक्षसहित सबै पदमा दुई पटक मात्र निर्वाचित हुन पाउने व्यवस्था छ ।
यही निर्वाचनले अफ्रिका, मेसो तथा दक्षिण अफ्रिका, उत्तर अमेरिका तथा क्यारेवियन, पश्चिम एसिया, ओसिएन, पूर्वी युरोप, उत्तर र मध्य एसिया तथा पश्चिम युरोप क्षेत्रका काउन्सलरसमेत चयन गरेको छ । सम्मेलनले शिक्षा तथा संचार, पारिस्थितिकीय व्यवस्थापन, वातावरण, अर्थतन्त्र र सामाजिक नीति, प्रजाती संरक्षण, विश्व वातावरण कानुन र विश्व संरक्षित क्षेत्र गरी ६ वटा विषयगत आयोगका प्रमुख पनि चयन गरेको छ ।
१९२ देशका ८ हजारभन्दा बढी संरक्षणकर्मी सहभागी सम्मेलनले प्रकृति, प्रजाती र वातावरण संरक्षणसम्वन्धि १०५ बुँदे घोषणा पत्र जारी गर्ने तयारी गरेको छ । त्यसमध्ये शनिवार रातिसम्म ८५ बुँदामा सदस्यवीच सहमति जुटेको छ भने अरुमा आइतबार सहमति हुने आईयुसीएन नेपालका अमित पौड्यालले बताए ।
आईयुसीएनमा १६००० हजार स्वंयसेवक विशेषज्ञ संलग्न छन् । यसले प्रकृति र जैविक विविधता संरक्षणमा विश्वभर काम गर्छ । नेपालमा आईयुसीएनले सन् १९६० देखि काम गर्न थालेको हो । यस्तै, १९९५ देखि सदस्यता लिएर विश्व सम्मेलनमा सहभागीता जनाउन थालेको हो । यो सम्मेलनले चार वर्षपछि हुने अर्को सम्मेलनको स्थानसमेत चयन गर्नेछ ।
ekantipur




















