- सर्लाहीमा सिँचाइ गर्न गाउँ–गाउँबीच विवाद, सिडिओ कार्यालयले समेत मिलाउन सकेन
- बारामा ‘सिथ बलाइट’को प्रकोप
- चितवनका किसान भन्छन्, ‘पोहोरको धानबाली रोगले खायो, यसपालि खडेरीले सिध्याउला जस्तो छ’
- कपिलवस्तुमा कतै ‘महादेवलाई उधारो पानी’, कतै ‘पुजारीलाई नाङगै पारेर स्नान’
मध्य तराईमा खडेरीले धानबाली सुक्न थालेपछि किसान चिन्तित भएका छन् । समयमै वर्षा सुरु भए पनि केहीयता खडेरी परेकाले धान उत्पादनमा असर पर्ने देखिएको छ ।
खडेरीकै कारण कतिपय ठाउँमा सिँचाइका लागि किसानहरूबीच विवाद हुन थालेको छ । सर्लाहीको एक गाउँमा विवाद चुलिएर प्रशासनसम्म पुगेको छ । सोमबार स्थानीय प्रशासनको रोहवरमा दुवै गाउँका किसानबीच जिल्ला प्रशासनमा छलफल भएको थियो । पूर्व धनकौल र नोकेल्वाका किसानबीच सपाहा नदीमा बाँध बनाएर खेतमा पानी पटाउने विषयमा विवाद भएको हो ।
धनकौलका किसानले नदीको माथिल्लो भागमा पानी थुनेर तलको बहाव रोकेको भन्दै नोकेल्वाका किसानले प्रशासनमा उजुरी दिएर बाँध निर्माणमा रोक लगाएका छन् । धनकौलका अगुवा सिकान रामविलास राय यादवले सुख्खा बढेकाले बाँध निर्माण गरेर खेतमा पानी पटाउन खोज्दा नोकेल्वावासीले प्रहरी लगाएर रोकेको बताए । ‘बाँध बनाएको विषयमा प्रशासनमा उजुरी परेको भन्दै आइतबार साँझ केही प्रहरी आएर निर्माण रोक्न लगाए,’ रायले भने, ‘हाम्रो गाउँको नदीमा बाँध बनाएर पानी पटाउनसमेत नपाउने गरी रोक्नु अन्याय हो ।’ धनकौलका किसानले अस्थायी बाँधको काम २५ प्रतिशत टुंग्याइसकेका छन् ।
प्रतिबिघा २ हजारका दरले शुल्क असुलेर धनकौलका किसानले सिँचाइका लागि नदीमा बाँध बनाउन सुरु गरेका थिए । यादवले ५ लाख जुटाएर यसै वर्षका लागि पानी पटाउन सकियोस् भनेर थालेको बाँध निर्माणकार्य प्रशासनको हस्तक्षेपछि अवरुद्ध भएको बताए । नोकेल्वाका किसानले नदी साझा भएकाले कसैले पनि थुनेर राख्न नपाउने बताएका छन् । माथिल्लो भेगमा नदी थुन्दा तल्लो भेगका किसान सुख्खाको मारमा पर्ने भएकाले प्रशासनको सहयोग लिएर रोक लगाएको नोकेल्वाका किसानको भनाइ छ । नोकेल्वाका किसान रामप्रताप रायले नदी सबैको साझा भएकाले कुनै एक गाउँले मात्र प्रयोग गर्न खोज्नु गलत भएको बताए । ‘खडेरीका बेला सबै किसानलाई पानी चाहिएको छ,’ उनले भने, ‘माथिल्लो भेगका किसानले नै सबै पानी रोक्ने हो भने तलका किसान त मारमा पर्छन् । त्यसैले बाँध रोक्न हामीले प्रशासनमा उजुरी गरेका हौं ।’
नोकेल्वाका किसान पनि खडेरीले सुकेको खेतमा पानी पटाउन सोही नदीमा बाँध बनाउँदै छन् । माथिल्लो भेगमा पानी रोकिने भएपछि उनीहरू त्यसको विरोधमा जुटेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी विनोद खडकाले बाँध निर्माणमा रोक लगाएको नभई दुई गाउँका किसानबीच विवाद देखिएकाले समाधानका लागि छलफलमा डाकिएको बताए । छलफलमा दुवै गाउँका किसान आ–आफ्नो अडानमा कायम देखिए । नदीमा पानी कम भएकाले सबैतिर वितरण गर्दा कसैलाई पनि नपुग्ने धनकौलका किसानको जिकिर छ ।
नोकेल्वाका किसानले भने पानीमा कसैको एकाधिकार स्वीकार्न नसकिने बताएका छन् । खडकाले पानीकै कारण दुई गाउँबीच विवाद चर्किने अवस्था आउन नहुने भन्दै दुवै पक्षलाई मिलाउने प्रयास गरेको बताए । ‘विवाद समाधानको प्रयास भइरहेको छ,’ उनले भने, ‘दुवै पक्षका किसान सम्पर्कमा हुनुहुन्छ । समाधानको उपाय निकाल्नैपर्छ ।’ यसवर्ष ७/८ वर्षयताकै सबैभन्दा धेरै धान रोपाइँ भएको छ । समयमा वर्षा भएकाले धान रोपाइँ राम्रो भए पनि लामो खडेरीले बाली सुक्न थालेका छन् ।
‘महादेव’लाई उधारो पानी
कपिलवस्तुमा पनि लामो समय पानी नपरेपछि सीमावर्ती पिपरा ६ चाकलचौडा गाउँका २ सयभन्दा बढी महिलाले नदीबाट पानी सापट लिएर आक्रोश व्यक्त गर्दै महादेवलाई चढाएका छन् । उनीहरूले महादेवलाई ‘तपाईंका कारण हाम्रा लालावाला भोकै हुने भए, जीवनयापन कष्टकर हुने भयो’ भन्दै स्थानीय सिसई खोलाबाट पानी ल्याएर चढाएका हुन् । पीडा सुनिदिन आग्रह गर्दै महिलाले पूजाआजा गरेका थिए । उनीहरूले आइतबार रिसाउँदै गाउँको शंकर मन्दिरमा जल चढाएका थिए ।
‘आधी जल महादेवलाई चढायौं,’ सहभागी सुमन पाठकले भनिन्, ‘आधी जल घर–घर रहेको हयान्ड पम्प र इनारमा राख्यौं ।’ घरका पनि हयान्ड पम्प र इनार सुक्ने अवस्थामा पुगेको उनले बताइन् । उधारो पानी लगेर चढाउँदा कष्ट परेरै आएका हुन् भन्ने भान महादेवलाई पर्ने जनविश्वास रहेको अवधि संस्कृतिका जानकार पशुपतिमणि त्रिपाठीले बताए । एक महिनादेखि पानी नपरेपछि खडेरी पर्न थालेको छ । ‘धानवाली डढ्न थालेपछि भगवानसँग पानी माग्न पुगेका हौं,’ स्थानीय सोनमती पाठकले भनिन्, ‘महिलाहरूले उधारो पानी चढाए वर्षा हुने जनविश्वास छ ।’
खेतमा धाँजा
लामो समय पानी नपरेकाले कपिलवस्तुका धान खेतमा धाँजा फाटेका छन् । साउन ११ यता जिल्लामा पानी परेको छैन । धनकौली ७ देवपुराकी ५७ वर्षे कृषक राजमती केवटको धान खेतमै डढ्न थालेपछि चिन्ताले निद्रा हराएको बताए । ‘सहकारीबाट ३० हजार ऋण लिएर धानखेती गरें,’ उनले भनिन्, ‘अब कसरी तिर्ने ?’
स्थानीय रामशरण केवट पानी नभएर धान पहेलिन थालेपछि तनावमा छन् । छिटो रोपेको धानमा बाला लाग्न पाएको छैन । ढिलो रोपेको धानले गाँज हाल्न सकेको छ्रैन । जताततै पानीको अभाव छ । जिल्लाको ३० प्रतिशत खेतमा सुख्खा परेको कृषि कार्यालयले जनाएको छ । ‘अहिले अवस्था नराम्रो हुँदै गएको छ,’ बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठीले भने, ‘अब दुई/चार दिनमा पनि पानी परेन भने अवस्था भयावह हुन्छ ।’
सुख्खाकै कारण धान उत्पादनमा कमी हुने देखिएको उनले बताए । २० हजार हेक्टर धानखेती प्रभावित बनेको छ । जिल्लाको हरनामपुर क्षेत्रमा ५० प्रतिशत र पकडी क्षेत्रमा ४० प्रतिशत सुख्खा परेको छ । त्यस्तै जिल्लाको पश्चिमको गणेशपुर र बहादुरगन्ज क्षेत्रमा ३५ प्रतिशत बढी सुख्खा परेको छ । यस वर्ष ७२ हजार हेक्टरमा धानखेती भई २ लाख ४८ मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको थियो । कृषक यस वर्ष दोहोरो मारमा परेका छन् ।
पुजारीलाई नाङगै पारेर स्नान
लामो समय पानी नपरेपछि किसानले तौलिहवास्थित तौलेश्वरनाथ महादेवलाई ‘बाँधेका’ छन् । खडेरीले अत्तालिएका किसानले पानी पार्नका लागि एक सातायता विभिन्न परम्परा निभाइरहेका हुन् । नगरपालिकाको बर्दहवा र रमतलहा गाउँबाट आएका महिलाले आइतबार राति शिवलिंगलाई माटो र धागोले बाँधेका हुन् । ५०/६० महिलाले जल चढाएर धागोले चारैतिरबाट बाँधेर फर्केका थिए ।
त्यसपछि मन्दिरका पुजारी सन्तोष गोस्वामी र अंगल गिरीलाई नाङगो बनाएर नुहाएका थिए । आधा घण्टा नुहाएर फर्केको पुजारी गिरीले बताए । उनका अनुसार आइतबार राति ३ पटक नुहाउनुपरेको थियो । ‘भगवानलाई बाँधेपछि पानी पर्छ भन्ने जनविश्वास छ,’ मन्दिर व्यवस्थापन समिति अध्यक्ष बनारसी बर्माले भने, ‘त्यसैले महिलाले बाँधेका हुन् ।’ एक महिनादेखि पानी नपर्दा ३ करोडभन्दा बढीको धानबालीमा क्षति पुगेको जिल्ला कृषिले जनाएको छ । गर्मीले खेतका धाँजा फाटेका छन् । यस वर्ष जिल्लामा ७२ हजार ५ सय हेक्टरमा धानखेती गरिएको छ । पानी नपर्दा करिब १५ हजार मेट्रिक टन उत्पादनमा कमी आउने देखिएको कार्यालयले जनायो । ‘अवस्था दयनीय छ,’ बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठीले भने, ‘अझ ३/४ दिन पानी परेन भने अवस्था अझ भयावह हुन्छ ।’
चितवनका किसान पनि चिन्तित
धानमा बाला फुट्ने बेला परेको खडेरीले चितवनका किसान चिन्तित छन् । खडेरीले केही स्थानमा धान सुक्न थालेको छ । सुख्खा बढेपछि किसान मारमा परेको जिल्ला कृषि कार्यालय प्रमुख सोमनाथ घिमिरेले बताए । ‘अहिले धानलाई पानी निकै आवश्यक पर्छ,’ उनले भने, ‘धान फुटाउने बेला भएकाले पानी नभई हुँदैन ।’ खडेरीले जिल्लाका पूर्व र पश्चिमका केही स्थानमा रोगसमेत देखा पर्न थालेको छ ।
‘समयमा पानी भएन भने धानमा राम्रो बाला लाग्न सक्दैन,’ घिमिरेले भने । यसपालि किसानले हर्दिनाथ, सावित्री, मनसुली, चौध बयालीस पीआर लगायत धान रोपेका छन् । खडेरीले केही स्थानका धान खेतमा धाँजा फाट्न थालेको छ । अघिल्लो वर्षका तुलनामा यसपालि समयमा वर्षा भएकाले रोपाइँ भने सबैतिर भएको कार्यालयले जनायो । गत वर्ष चैते धानमा नेक ब्लास्ट (घाँटी मरुवा) रोगको प्रकोप खेपेका किसान यस पटक खडेरीको मारमा छन् ।
‘समयमा पानी परेर रोपाइँ सक्यौं,’ भण्डाराका किसान यज्ञनाथ कँडेलले भने, ‘धान गजाउने अवस्थामा खडेरी परेर बाला नलाग्ने अवस्था भएको छ ।’ कृषि कार्यालयका अनुसार जिल्लामा २९ हजार ३ सय हेक्टरमा धानबाली लगाइएको छ । रोपाइँ सकिएर धानमा बाला लाग्ने बेलामा खडेरीले अप्ठेरो पारेको छ । पूर्वी चितवनमा यसवर्ष धान उत्पादनमा कमी आउने भएको छ । पछिल्लो दुई साता अघिदेखि यहाँ पानी परेको छैन ।
कृषि कार्यालयका बाली विकास अधिकृत गेनीलालप्रसाद यादवले ‘१०/१५ दिन यस्तै अवस्था रहे धान उत्पादनमा कमी आउने’ बताए ।
बारामा ‘सिथ बलाइट’को प्रकोप
बारामा खडेरीले ‘सिथ बलाइट’ रोगको प्रकोपसँगै धान सुक्न थालेको छ । जमिन ओसिलो नभएकाले खेतमा धाँजा फाट्ने क्रम बढदै गएको छ । हरियो धान रातो र सेतो रंगको देखिन थालेका छन् । कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत जितेन्द्र यादवले सिँचाइ भएको सुविधामा खासै नोक्सानी नदेखिए पनि खास गरी जिल्लाको दक्षिणी र पूर्वी भागमा बढी समस्या देखिएको बताए । ‘धानमा दाना लाग्ने समय (पीआईस्टेज) अहिले नभएकाले त्यति साह्रै नोक्सानी छैन, तर आउँदो दुई सातासम्म यस्तो अवस्था रहयो भने ३० देखि ४० प्रतिशत उत्पादन घट्छ,’ उनले भने ।
आकाशे पानी र सिँचाइ अभाव भएपछि किसानहरू चिन्तित देखिन थालेका छन् । कचोर्वा १ का किसान लक्ष्मीनारायण साह तेलीले भने, ‘पानी नपर्दा खेतीमा गरिएको खर्च निस्किन गाह्रो हुने आशंकाले चिन्ता बढेको छ ।’ खेती गर्न धेरै खर्च भएकाले नोक्सानी बेहार्नुपर्ने सम्भावना बढेको उनले दुखेसो पोखे । कृषि विकास कार्यालयका अनुसार ५७ हजार हेक्टर जग्गामा धानखेतीले बर्सेनि साढे दुई लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तर पानी नपर्दा यसपालि घट्ने सम्भावना बढेको छ ।
ekantipur




















