जव सामाजिक सञ्जालमा यो फोटो देखियो, धेरै बेर म घोरिएँ। दुख, पीडा र वास्तविकताको एउटा दुर्दान्त मनोदशामा डुबेको महसुस भयो। १० लाख खर्चेर कुनै गैरसरकारी संस्थाले भूकम्पपीडितका लागि बनाएको भनिएको यो नमूना घरको हबिगतले नेपालमा काम गर्ने गैरसरकारी संस्थाहरुको चरित्र र नियतलाई उदाङ्गो पारेको छ।
यो एनजिओ–आइएनजिओले विकासका नाममा गर्दै आएको परम्परागत धन्दाकै निरन्तरता मात्रै हो।
अहिले एनजिओ (गैरसरकारी संस्था) र आइएनजिओ (अन्तर्राष्ट्रिय गैरसरकारी संस्था) भनेको फेसनजस्तो बनेका छन्। जसरी फेसन आफैले मान्छेलाई सुन्दर बनाउँदैन, त्यसरी नै एनजिओ र आइएनजिओले पनि दीगो विकास गर्दैनन्। नेपालजस्तो अल्पविकसित देशमा एनजिओ–आइएनजिओले गरिबलाई सघाएको देखिँदैन।
एनजिओको पैसालाई ‘इजी मनी’ भन्ने चलन छ। सजिलै आउने, सजिलै खान सकिने। ‘इजी मनी’ भएपछि यसमा गम्भीर काम गर्नु पनि नपर्ने र गम्भीर ढंगले सोच्नु पनि नपर्ने। गरिब देशमा आउने विकासे एनजिओहरूले सशक्तिकरणका नाममा अनेक अर्ती–उपदेश मात्रै सुनाउँछन्। जसरी केपी ओलीको राष्ट्रवादमा भ्रमपूर्ण जादूगरी छ, यी एनजिओकर्मीको अर्तीमा पनि गरिबलाई भुलाउने त्यस्तै जादूगरी भाषा छ। मुहुनीमय उपदेश सुनाउँदै तिनले गरिबकै नाममा मोज गर्छन्।
यिनीहरू गाउँगाउँ पुग्छन् र विकासे राँगो बाँड्छन्, बाख्राका पाठा बाँड्छन्, कुखुराका चल्ला बाँड्छन्। अनि विकासको उपदेश दिन्छन्। जसका घरमा बिहान–बेलुका छाक टार्ने अन्न छैन, उनका घरमा चर्पी बनाउँदै हिंड्छन्। विश्व खाद्य संस्था भन्ने निकाय छ, ऊ गाउँका गरिबलाई सडेगलेको र कुहिएको चामल बाँड्न जान्छ। गरिब र विपन्न जनता जतिजति संकटमा पर्छन्, यिनीहरूको व्यापार–व्यवसाय गर्ने धन्दा सुरु हुन्छ। यिनीहरू अलिकति गरिबको संकटबाट पैसा साटेर खान्छन्। गरिबका अलिकति करुण र अलिकति पैसा लिएर जान्छन् र आफू मोटाउने धन्दा गर्छन्।
अहिले नेपालमा भूकम्पपीडितका नाममा ठूलो मात्रामा पैसा आयो। पहिले–पहिले यी एनजिओकर्मी सहरमै बस्थे, रिपोर्ट लेख्थे र खान्थे। अहिले चाहिँ पैसा ठूलो परिमाणमा आएपछि यिनीहरू उतै गाउँगाउँमा पुगेका छन्। उतै बसेर खाएका छन्। पुनर्निर्माण गरेजस्तो र घर बनाइदिएजस्तो गरेर कसरी यिनीहरूले ठगेका छन् भन्ने उदाहरण यो समाचार र फोटो हो।
यो समाचार र तस्बिर नेपालमा विद्यमान एनजिओकर्मको चरम नमूना हो। नेपालका गरिबहरूमाथि यो भन्दा क्रुर ठटटा अरु के हुन सक्ला र! गरिबका नाममा आएको पैसाको यस हदसम्म दुरूपयोग हुँदा पनि त्यसलाई नियमन गर्ने कुनै निकाय नहुनु झन् दुःखको कुरा हो। गरिब र पीडितमाथि योभन्दा निर्मम अपराध अरु के हुन सक्छ?
साभार- अन्नपूर्ण पोष्ट
सरकारी स्रोत वा अन्य विदेशी स्रोतबाट आएका पैसा दुरूपयोग गरेर एनजिओले निर्मम अपराध गरेका छन्। यो वास्तवमा एकपटकको र आजको मात्रै घटना होइन। यो एनजिओ–आइएनजिओले विकासका नाममा गर्दै आएको परम्परागत धन्दाकै निरन्तरता मात्रै हो।
यतिबेला भूकम्पका कारण नेपालमा ठूलो मात्रामा पैसा भित्रियो। र, यो विषय समाचार बन्यो। नत्र यसअघि नै गाउँगाउँमा एनजिओले यस्तै गर्दै आएका छन्। गाउँमा वितरण गर्ने नाममा हाम्रै देशका पार्टीहरूले पनि सरकारी रकमको चरम दुरूपयोग गर्ने गरेका छन्। जो–जो संसदमा गए, जो–जो सरकारमा गए, तिनले राज्यकोषको दुरूपयोग गरेका गर्यै छन्। पार्टीका नेताहरूले आफनै नातागोता पोस्ने गरका छन्।
यस्तो घटना भइसकेपछि एनजिओ–आइनजिओहरूलाई राज्यले निगरानी गर्नुपर्ने हो, नियमन गर्ने हो। तिमीहरूको खर्च गर्ने प्रक्रिया के हो, विधि कुन हो भनेर राज्यले अनुगमन गर्ने र यस्ता घटनामा दण्डित गर्नु पर्ने हो तर हाम्रो राज्य आफै निकम्मा छ। राज्य निकम्मा भएपछि एनजिओ–आइएनजिओहरू छाडा साँढेजस्तो भएका हुन्।
(कुराकानीमा आधारित)
nepalkhabar




















