– , काँकडभिट्टा
दार्जिलिङमा गीत–संगीतको कमान्ड अम्बरले नै सम्हालेका थिए
जेष्ठ २५, २०७३- संगीतज्ञ अम्बर गुरुङको निधनको खबर उनको जन्मथलो दार्जिलिङमा मंगलबार झिसमिसेमै फैलियो । निधनले उनी जन्मे/हुर्केको दार्जिलिङ, उनका समकालीनहरू र फ्यानहरू भावुक बने । सिंगो दार्जिलिङ शोकमा डुबेको छ ।
सन् २६ फेव्रुअरी १९३८ दार्जिलिङको लालढिकीमा जन्मिएका उनले नेपाली संगीत आकाशमा थुप्रै कालजयी गीत–संगीत भरे । कला मन्दिर र आर्ट एकाडेमीजस्ता संगीत विद्यालयमा उनले अरुणा लामा, कर्म योन्जन, गोपाल योन्जन, जितेन्द्र बर्देवा, इन्द्र गजमेर, रञ्जित गजमेर, शरण प्रधान, शान्ति ठटाललगायतसँग काम गरे ।
उनका केही समकालीन बितिसके । केही बाँकी छन् । उनका समकालीनमध्ये एक संगीतज्ञ गगन गुरुङले भने, ‘अम्बरले छाडे पनि दार्जिलिङले सधैं सम्झिरहने छ ।’ गगनका अनुसार अम्बरले दार्जिलिङलाई जति माया गर्थे, दार्जिलिङले त्यसभन्दा बढ्ता माया उनलाई गर्छ । काठमाडौंबाट ज्वाईंले फोन गरेपछि अम्मर बितेको थाहा पाए गगनले । अनि एकाबिहानै भक्कानिए । ‘मेरो त आँसु नै थामिएन,’ अम्बरका ज्यादै निकट समकालीन गगनले थपे, ‘अम्बर संगीतको महासागर थियो ।’
सन् १९५० देखि गगनले अम्बरसँग संगत गरे । नेपाली गीत–संगीतको उत्थानमा खोलिएको आर्ट एकाडेमीमा यी गुरुङ बन्धुले सँगै काम गरे । अम्बरले दार्जिलिङ नछाडुन्जेल उनीहरूको दोस्ती मज्जाले जम्यो । जब अम्बर काठमाडौं खाल्डो पसे, गगनको दोस्ती टुट्यो । गगन सम्झिन्छन्, ‘अम्बर मेरो साथी मात्रै थिएन, मार्गदर्शक थियो ।’ अम्बरको निधनले नेपाली संगीत आकाशमा ठूलो क्षति पुगेको ठान्छन् गगन ।
त्यस बेला अरुणा र शान्तिले अम्बरसँग निकट भएर संगीत सिर्जना गरे । अरुणा त बितिसकिन् । शान्ति भने अझै युवा जोसका साथ गीत गाइरहेकी छन् । ठटाल भन्छिन्, ‘अम्बर गुरुङ नेपाली सांगीतिक आकाशका एक धरोहर हुन् ।’ आधुनिक नेपाली संगीतमा अमरको अतुलनीय योगदान रहेको उनले बताइन् । ‘अमरको निधनले दार्जिलिङ र नेपालमा मात्रै हैन नेपाली गीत–संगीत माया गर्ने संसारभरका नेपालीलाई स्तब्ध पारेको छ,’ उनले थपिन्, ‘एउटा अग्लो संगीत धरोहर ढले जस्तो लागेको छ ।’
सन् ५० को दशकमा अम्बर दार्जिलिङमै संगीत सिर्जनामा सक्रिय थिए । अगमसिंह गिरीको रचनाको ‘नौ लाख तारा उदाए’ बोलको गीत जब रेकर्ड भयो, यसले सिंगो भारतमा तहल्का मच्चायो । ‘राजनीतिक गन्ध’ आएको आरोपमा त्यो गीत तत्कालीन शासकले प्रतिबन्ध नै लगायो । केही समय बजेपछि अल इन्डिया रेडियोले पनि रोक्यो । यो गीत अम्बरको जीवनमा एउटा कोसेढुंंगा बन्यो । यही गीतका कारण तत्कालीन राजा महेन्द्रले उनलाई डाके । अनि उनी पुगे नेपाल ।
‘अम्बर विलक्षण क्षमता भएका सर्जक थिए,’ संगीतकर्मी कर्म योन्जनले सम्झिए, ‘उनी हाम्रा अभिभावक र मार्ग दर्शक थिए ।’ त्यस बेला सिंगो दार्जिलिङमा गीत–संगीतको कमान्ड अम्बरले नै सम्हालेका थिए । कर्म, गगन, शान्ति, अरुणाहरूले सघाएका थिए । कर्मलाई लाग्छ, ‘अम्बर दाजु नेपाली आधुनिक संगीतका प्रणेता नै हुन् ।’ थप्छन्, ‘नेपाली संगीतको श्रीवृद्धिमा अम्बर दाजुको योगदान ज्यादै धेरै छ ।’
गोर्खाल्यान्ड टेरोटेरियल एडमनिस्ट्रेसन (जीटीए) का प्रमुख विमल गुरुङले अम्बर गुरुङलाई नेपाली संगीताकाशका ध्रुवताराको उपमा दिए । गुरुङको निधनले नेपाली गीत–संगीत क्षेत्र र नेपाली भाषीहरूलाई मर्माहत तुल्याएको उल्लेख गर्दै गुरुङले भने, ‘महान् संगीतकार अम्बर नेपाली संसारबाट अस्ताउनु भनेको समग्र नेपाली संगीत जगतलाई सूर्य ग्रहण लाग्नु जस्तै हो ।’ गुरुङ संगीतकारमात्रै थिएनन् । सफल गायक, गीतकार, चित्रकार अनि साहित्यकार पनि थिए । उनको बहुआयामिक प्रतिभाले नै महान् कलाकारहरूको पंक्तिमा उभ्याएको विमल ठान्छन् ।
उनको सम्झनामा गोर्खाल्यान्ड टेरोटेरियल एडमनिस्ट्रेसन (जीटीए) को सूचना तथा सांस्कृतिक विभागले बुधबार चौरस्ता क्षेत्रमा दीप प्रज्वलनसहित शोकसभा आयोजना गर्ने भएको छ ।
ekantipu




















