
उमेरले ५० नाघेका परियार अरूका खेतबारीमा काम सघाएर, लुगा सिलाएर र बिहेबटुलोमा नरसिंगा बजाएर ११ जनाको परिवार पाल्दै आएका थिए। भूकम्पअघिसम्म उनीसँग एउटा सानो घर थियो। भूकम्पले त्यो भत्किएन मात्र, त्यसले नातिनीको जीवन लियो र बाँचेकाहरुको जीविका पनि खोसेर लग्यो।
‘सुरुमा पाएको १५ हजार राहतले टहरो बनाइयो। केटाकेटीलाई कपडा र खाना किनियो। केही बोरा राहतको चामल र लुगा पाइयो। चाँडै न्यानो कपडा किन्न १० हजार दिने भनेका छन्,’ परियारले सुनाए, ‘यतिले एउटा परिवार पाल्न साँच्चै गाह्रो रहेछ।’
परिवारको भविष्यप्रति अनिश्चित छन् परियार। ‘मैले जानेकै खेतमा काम गर्न, लुगा सिउन र नरसिंगा बजाउन हो। नरसिंगा र लुगा सिउने कल त घरसँगै पुरिएर गए,’ आँखा भिजाउँदै परियारले भने, “यो वर्ष त खेती पनि कसैकसैले मात्र गरे। अब कसरी बाँच्ने हो, सोच्नै सकेको छैन।’
एक सय ३४ घरधुरी रहेको कुसुण्डेमा झन्डै दुई दर्जन घरधुरी दलितका छन् र सबैका कथा लगभग उस्तै छन्। दलित मात्र होइन, भूकम्प अति प्रभावित क्षेत्रमा परम्परागत पेसाका भरमा गुजारा चलाउँदै आएका धेरै गरिब परिवारको अवस्था उस्तै छ।
धादिङ, सल्यानटारको सेउलीबजार बस्दै आएका भक्तबहादुर भट्टको कथा पनि उस्तै छ। उमेरले ५९ वर्ष पार गरेका भट्टको जीवन सुकुम्बासी भएरै बित्यो। बूढीगण्डकी खोलामा माछा मारेर जीविका गर्दै आएका भट्ट २५ वर्षअघि गोरखाको आरू, चनौटेबाट वारि धादिङ सरेका थिए। बूढीगण्डकी किनारको सार्वजनिक जग्गामा सानो घर बनाएका थिए र माछा मारेरै आफ्ना तीन छोरी हुर्काएका थिए।
‘जीवनभर माछा मार्न मात्र जानेँ तर केही वर्षअघिदेखि मान्छेले खोलामा माछा मार्न करेन्ट छाड्ने, बम हान्न थालेपछि यसै पनि मेरो जीवन गाह्रो भएको थियो,’ भट्टले सुनाए, ‘यो भूकम्पले त मलाई के गर्नु र कसो गर्नु बनायो।’
भूकम्पले ऐलेनी जग्गामा रहेको ढुंगामाटोको घर भत्काएपछि भट्टदम्पती टिनको छाप्रो हालेर बसेका छन्। ‘सरकारले पहिलोपटक दिएको १५ हजार राहतले यो छाप्रो हालेँ तर यो चिसोमा त टिनको छाप्रोभित्र रात गुजार्न गाह्रो हुन्छ,’ भट्टले भने, ‘चारतिरबाट मात्र होइन, तल र माथिबाट पनि चिसो आउँछ। कहिले उज्यालो होला भनी पर्खनुपर्छ।’
भूकम्पपछि भट्ट यति आत्तिएका छन् कि उनका अगाडि आशाका सबै ढोका बन्द हुँदै आएका छन्। ‘बिहे गरेर गएका छोरीहरु छन्, एउटै आस तिनले हेर्लान् भन्ने हो,’ उनले सुनाए, ‘तर अहिले त उनीहरुलाई नै गुजाराका लागि गाह्रो छ।’
सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन गरेर प्रत्येक पीडित परिवारलाई घर बनाउन २ लाख रुपैंयाँसम्म अनुदान दिने आश्वासन दिएको छ। तर, यी घरवारविहीनमा भने त्यो पनि पाउनेमा शंकाले घेरेको छ।
‘पाउने त सुनेको हो, हामी सुकुम्बासीले पाउँछौं कि पाउँदैनौं?’ भट्टले सोधे, ‘पाए पनि कहिले पाउने हो, आसमा बाँच्नेबाहेक के पो उपाय छ र!’
nagariknews




















