×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

[कुराकानी] साँठगाँठको राजनीति मलाई मन पर्दैन

  •  
  • आइतबार, पुष १९, २०७२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पुस १९, २०७२- नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको विषयलाई लिएर पार्टीभित्र तीव्र ध्रुवीकरण सुरु भएको छ । संस्थापन पक्षबाट सभापति सुशील कोइराला आफैं उम्मेदवार हुने चर्चा चलिरहेका बेला उनलाई साथ दिँदै आएका उपसभापति रामचन्द्र पौडेल यसपटक मैदानमा उत्रिइसकेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवा धेरै समय अघिदेखि नै तयारीमा जुटेका छन् । पार्टीको आसन्न महाधिवेशन, मधेस आन्दोलनलाई निकास दिने सन्दर्भमा कांग्रेसको अगुवाइमा भइरहेको संवाद र सरकारको प्रभावकारिताका विषयमा केन्द्रित रहेर कान्तिपुरका लागि बलराम बानियाँ र कुलचन्द्र न्यौपानेले पौडेलसँग गरेको कुराकानी :

    पार्टीको १३ औं महाधिवेशन नजिकिइरहेका बेला तपाईं देश दौडाहा गरिरहनुभएको छ । देश दौडाहा पार्टी सभापतिमा उम्मेदवार हुनका लागि हो ?
    संविधानसभाबाट जारी संविधानको प्रचार गर्न तथा सद्भाव र एकताको राष्ट्रिय अभियान लिएर देश दौडाहामा गएको हुँ । सातवटै प्रदेशका जिल्ला र क्षेत्रीय सभापतिलाई राखेर प्रशिक्षण दिने कार्यक्रम गर्‍यौं । त्यसपछि जिल्ला–जिल्लामा आफ्नो विचार आदानप्रदान गर्ने कार्यक्रम गर्‍यौं । कार्यकर्तामा रहेको संविधान र प्रधानमन्त्रीमा सभापति सुशील कोइरालाको उम्मेवारी र पराजयबारेको अन्योललाई हटाउने काम गरिरहेका छौं ।

    तपार्इंको यो अभियान १३ औं महाधिवेशनमा सभापति बन्ने तयारीका लागि होइन र ?
    यो अभियानका क्रममा साथीहरूले दुई/तीनवटा विषय उठाइरहनुभएको छ । १२ औं महाधिवेशनले गुटबन्दी अन्त्य हुन सकेन । भागबन्डा रोक्न सकेन । १३ औं महाधिवेशनले गुटबन्दी र भागबन्डा रोक्नुपर्छ, पार्टीलाई सशक्त र जीवन्त बनाउनुपर्छ । त्यसका लागि परम्परागत शैलीभन्दा फरक ढंगबाट पार्टी चलाउने नेतृत्व चाहियो भन्नुभएको छ । पार्टीलाई अरू प्रतिस्पर्धी दलहरूसँग खरो रूपमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता र ल्याकत भएको नेतृत्व चाहिन्छ र त्यसका लागि लायक तपाईं नै हो भनेर साथीहरूले भन्दै आउनुभएको छ । पार्टीका सामु आएका चुनौतीलाई सामना गर्नका लागि तपाईं पार्टी सभापतिको जिम्मेवारीमा आउनुपर्छ भन्ने जोड साथीहरूको छ । देशभरका साथीहरूको यो चाहनालाई म उपेक्षा गर्न सक्दिनँ । यसले मलाई प्रेरित गरेको छ, लोकतन्त्रको रक्षा गर्न र पार्टीलाई बलियो बनाउन सकिन्छ कि भन्ने मलाई प्रेरणा पनि दिएको छ ।

    सभापतिका लागि तपाईं अहिले अघि बढे पनि अन्तिममा खुट्टा टेक्नुहुन्न भनेर भन्नेहरू पार्टीमा धेरै छन् नि ?
    मेरो विरोध गर्नेहरूले अरू कुरा नपाएर यस्तो आरोप लगाएका हुन् । हो, इतिहासमा एउटा विशेष परिस्थिति पनि आयो । सधैं चुनावमात्रै लड्ने भन्ने कुरा पनि हुँदैन । मैले आफू संसदीय दलको नेता हुँदाहुँदै प्रधानमन्त्री निर्वाचनमा किन झगडा गर्ने भनेर शेरबहादुरजीलाई निर्विरोध बनाउन छाडेकै हो । म संसदीय दलका नेता हुँदै सुशीलजीले एकपटकका लागि म पार्टीको नेतृत्व गर्छु भन्नुभयो । मैले छाडेर उहाँलाई समर्थन गरेकै हो । पछि पनि सुशीलजीले मैले अहिलेसम्म प्रशासकीय अनुभव लिएको छैन । प्रधानमन्त्री म हुन्छु भन्नुभयो । त्यति बेला पनि मैले छाडेको हो । त्यो छाडेको कुरालाई साथीहरूले खुट्टा टेक्दैन भनेर भनेका हुन् भने मेरो भन्नु केही छैन । मैले उहाँहरूलाई सहयोग गर्नुपर्ने अवस्थामा सहयोग गरेको छु । अहिले पार्टीलाई भागबन्डा र गुटबन्दीबाट जोगाई एकताबद्ध र सुदृढ बनाउन मेरो आवश्यकता छ । उहाँहरूले मलाई छाड्नुपर्छ ।

    तपाईंले जसरी कोइरालालाई छोडें भन्नुभयो । अहिले कोइरालासित सहयोग नमागी सभापतिका लागि किन एक्लै दौडन थाल्नुभएको ?
    मैले सुशीलजी मात्रै होइन । शेरबहादुरजीलाई पनि यसपटक तपाईंहरूले मलाई सहयोग गर्नुपर्छ भनेर भनेको छु । सुशीलजीले ठिकै छ, साथीहरूसँग एकपटक बसेर कुरा गरौं भन्नुभएको छ । त्योभन्दा बढी उहाँसित कुरा भएको छैन ।

    पछिल्लोपटक सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार हुँदा उहाँले पार्टी सभापतिमा तपाईंलाई उठाउने आश्वासन दिएको चर्चा थियो । यथार्थ के हो ?
    भन्न त मैले उहाँलाई (कोइराला) उम्मेदवार दिने दिनमै तपाईं प्रधानमन्त्री हुने भएपछि म पार्टी सभापतिका लागि अघि बढ्छु भनेर भनेको हो । उहाँले हुन्छ भनेर भन्नुभएको हो । उहाँले शशांक कोइराला र मिनेन्द्र रिजाललाई राखेर भन्नुभएको हो । राजनीतिमा गरेको यो वाचामा उहाँ कति अडिनुहुन्छ, हुँदैन थाहा छैन । तर, अहिलेको आवश्यकताको मूल्यांकन सबैले गर्नुपर्छ । कांग्रेसलाई कस्तो सक्रियता चाहिएको छ ? कांग्रेसलाई कता लाने हो ? सोच्ने, बोल्ने, त्यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता लिएर म हिँडेको छु ।

    तपाईंले यसो भनिरहँदा पार्टीमा कोइराला नेतृत्वको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
    गएको कार्यकालको मूल्यांकन र चिराफारा गर्न म अहिले त्यति आवश्यकता ठान्दिनँ । त्यतातिर जान पनि चाहन्नँ । सबैले मूल्यांकन गर्ने विषय हो । सबैले देखेकै कुरा हो । यो कार्यकालमा राम्रो काम पनि भएका छन् । संविधानसभा चुनावमा कांग्रेस ठूलो पार्टी भयो । इतिहासमा अहिलेसम्म गर्न नसकेको संविधानसभाबाट संविधान ल्याउने काम कांग्रेसकै नेतृत्वमा भयो । इतिहासमा त्यसका लागि ककसको योगदान थियो, मूल्यांकन हुँदै जाला । त्यसबाहके पार्टीमा गतिशीलता, क्रियाशीलता जसरी हुनुपथ्र्याे, त्यो हुन सकेको छैन भन्ने साथीहरूलाई लागेको छ ।

    तपाईंका विचारमा कोइराला १३ औं महाधिवेशनमा पनि उम्मेदवार बन्नुहुन्छ कि हुन्न ?
    कोइराला फेरि उम्मेदवार हुनुहोला भन्ने मलाई लाग्दैन । उहाँको स्वास्थ्य, विगतको कमिटमेन्ट र सबै परिस्थिति हेर्दा उहाँ उम्मेदवार हुनुहुन्न भन्नेमा म विश्वस्त छु ।

    कोइराला उम्मेदवार हुनुभएमा तपाईंको स्थिति के हुन्छ ?
    मैले व्यक्ति हेर्ने होइन । पार्टीलाई हेर्ने हो । लोकतन्त्र र राष्ट्रलाई हेर्ने हो । यो राष्ट्र अहिले कुन बिन्दुमा आइपुगेको छ ? यो बिन्दुमा आइपुगेको राष्ट्रलाई कति सोचेर, सम्झेर र क्रियाशील भएर जानुपर्छ भन्ने दायित्व मैले बुझेको छु । अहिलेको परिस्थितिमा पार्टीको नेतृत्व लिने विषय मेरो दायित्वका रूपमा लिएको छु । यो निर्णायक दायित्व निर्वाह गर्ने पक्षमा म छु । हिजोसम्म म एउटा सहयोगीको भूमिकामा थिएँ । आज मलाई आफैंले स्टेयरिङ समाट्नुपर्छ । नत्र गाडी कता जान्छ भन्ने चिन्ता छ । व्यक्ति विशेषको कुरा होइन । शेरबहादुरजी, सुशीलजी चुनाव लड्नुहोला, नलड्नुहोला । त्यो बेग्लै कुरा हो । म आफ्नो दायित्व पूरा गर्नेमा दृढ छु ।

    संस्थापन पक्ष अहिले विभिन्न गुटमा विभाजित छ । यसलाई तपाईंले कसरी सम्हाल्दै हुनुहुन्छ त ?
    यो एक ठाउँमा रहन्छ । एजेन्डा र गतिका साथ पार्टीलाई अघि बढाउन म जसरी लागिरहेको छु, त्यसले सबै साथी एक ठाउँमा आउनुहुन्छ । त्यसैको वरपर सबै रहनुहुन्छ र १३ औं महाधिवेशन सफल हुन्छ ।

    तपाईं एक ठाउँमा सभापतिको उम्मेदवार घोषणा गर्ने र अर्को ठाउँमा औपचारिक घोषणा गरेको छैन भन्दै आउनुभएको छ । यसबाट तपाईं अन्तिममा खुट्टा टेक्नुहुन्न भन्ने सबैमा परेको छ नि ?
    मैले औपचारिकताको कुरा गरेको हो । मैले विधिवत् र औपचारिक रूपमा उम्मेदवारी घोषणा त गरेको छैन । गर्न बाँकी छ । मेरा समकालीन साथीहरूसँग केही परामर्श बाँकी रहेको र साथीहरूले सल्लाह गरेर घोषणा गरौं भनेका कारणले मात्रै औपचारिक घोषणा नभएको हो । तर, चुनाव लड्ने सम्पूर्ण तयारीमा म छु ।

    औपचारिक घोषणा कहिले गर्नुहुन्छ त ?
    समय छ । १२ औं महाधिवेशनमा पनि अन्तिम समयमा आएर नै उम्मेदवारीको घोषणा भएको हो ।

    कोइरालाले माघको दोस्रो सातासम्म उम्मेदवारी घोषणा नगर्नुहोस् भनेर तपाईंलाई भन्नुभएको चर्चा छ नि ?
    माघको दोस्रो साता होइन । एकपटक साथीहरूसँग कुरा गरौं भन्नुभएको छ । म माघको दोस्रो र तेस्रो सातासम्म पर्खेर बस्ने अवस्थामा छैन । चुनावमा जाने तयारीमा गइसकेका छन् । ममात्रै चुप लागेर बस्नुपर्छ भन्ने छैन । सबैले आआफ्नो तयारी गरिसकेकै छन् ।

    कोइरालासँग सल्लाह नगरी तपाईं घोषणा गर्ने पक्षमा हुनुहुन्न होइन ?
    हो । म एकचोटि उहाँसित परामर्श गर्छु । उहाँले नै मलाई उम्मेदवार भनेर अघि सार्नुहुन्छ जस्तो लाग्छ ।

    त्यस्तो विश्वास छ ?
    विश्वास छ ।

    तर, कोइराला पार्टीको विरासत परिवारभित्रै राख्न १३ औं महाधिवेशनमा पनि उम्मेदवार दिनुहुन्छ भन्ने आम धारणा छ नि ?
    उहाँ उठ्नु मात्रैले कोइराला परिवारमै नेतृत्व रहन्छ भन्ने त होइन होला नि । उम्मेदवारी दिएर मात्रै नेतृत्व रहन्छ कि रहँदैन, त्यतातिर पनि सोच्नुपर्‍यो नि । मूल कुरा पार्टीलाई कसरी एकता गर्ने ? पार्टीको आवश्यकता के हो भन्ने सोच्नुपर्छ ।

    पार्टीभित्र त तपाईंहरू तीनै जना नेता असफल भएकाले नेतृत्व तल्लो तहमा आउनुपर्छ भन्ने माग पनि उठेको छ नि । त्यो कतिको सम्भव देख्नुहुन्छ ?
    अहिले तीन नेताबाट नेतृत्व तल आउने सम्भावना देखिएको छैन । पार्टीभित्र विश्वसनीयता, स्वीकार्य र मान्यताको कुरा पनि हुन्छ । धेरै कुरा मिलेर मात्रै नेतृत्वलाई स्वीकार गरिन्छ । तीन नेता असफल भए भन्ने कुरा नारा लगाउनका लागि मात्रै हो । सिंगो पार्टी असफल भएको हो भने त्यो भन्नुपर्‍यो । केन्द्रीय कार्यसमिति असफल भएको हो भने त्यो भन्नुपर्‍यो । पार्टी असफल भयो भन्ने हो भने बीपीको पालामा नभएको संविधानसभाबाट संविधान ल्याउने कामको नेतृत्व अहिलेको नेतृत्वले नै गरेको हो । गणेशमान, किसुनजी र गिरिजाबाबुले गर्न नसकेका काम अहिले हामीले गरेका छौं । प्रधानमन्त्रीको चुनावमा हारेकै कारणले मात्र पार्टी असफल हुँदैन । पार्टीले चुनाव हारे पनि राजनीति हारेको छैन । आफ्नो राजनीतिक हैसियत जोगाएको छ । मधेससँग संवाद गर्ने हैसियत बनाएको छ । कांग्रेसले प्रतिपक्षका रूपमा आफ्नो भूमिकालाई बचाएको छ । भोलिको राजनीति सुरक्षित छ । अहिले दुई दिन पद नपाएको भरमा हामीले हातखुट्टा छाडेर आत्तिनुपर्ने अवस्था छैन ।

    यसपालि पनि महाधिवेशनमा नीतिभन्दा नेताकै बढी चर्चा हुन थाल्यो हैन ?
    नीति र कार्यक्रम त केही मान्छेलाई जिम्मा दिने, बनाउने र महाधिवेशनमा लगेर छलफल गरेर पारित गर्ने हाम्रो पार्टीको परम्परा हो । हाम्रो पार्टीमा कार्ययोजना, नीति लिएर नेतृत्वका लागि बहस गर्ने, अलगअलग नीतिमा बहस गर्ने परम्परा छैन ।

    तपाईं फरक ढंगले पार्टी हाँक्छु भन्ने तर नीति र कार्यक्रम नदिई आफू मात्रै अघि बढ्दा कार्यकर्ताले कसरी विश्वास गर्न सक्छन् ?
    म त आफ्नो दृष्टिकोण र कार्यक्रम मतदाता साथीहरूसँग राख्छु । कांग्रेसको अबको बाटो र सांगठनिक स्वरूपका विषयमा म स्पष्टताका साथ मतदातासँग उभिन्छु ।

    तपाईंले पार्टीभित्रको साठी र चालिसको भागबन्डा अन्त्य गर्छु भन्दै आउनुभएको छ । कसरी अन्त्य गर्ने योजना छ ?
    अहिलेको संविधानले देशलाई जुन खालको परिवर्तनतर्फ अघि बढाइरहेको छ । त्यसलाई नेतृत्व दिएर जान सक्ने कांग्रेस बन्नुपर्छ । हाम्रो व्यवहार, आचरण र कार्यशैलीको परिवर्तन हुनुपर्छ भन्ने मेरा मान्यता छ । अर्को संगठनमा सीमाभन्दा बाहिर गुटबन्दी र खुलेआम भागबन्डा चलिरहेको छ । त्यसको अन्त्य हुनुपर्छ र भागबन्डाको साटो मूल्यांकनको राजनीति सुरु हुनुपर्छ भन्ने मेरो अठोट छ । त्यसलाई मैले मेरो कामकारबाहीका व्यवहारमा उतारेको पनि छु । मैले पाएको जिम्मेवारी केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान बनाउँदा र कार्यक्रम सञ्चालन गर्दासम्म मैले मूल्यांकनका आधारमा साथीहरूलाई समेटेको छ । यसका आधारमा पनि मलाई विश्वास छ कि बिनाभागबन्डा नै पार्टीलाई अघि बढाउन सकिन्छ भन्नेमा । साथीहरूको सुरक्षा गर्न सकिन्छ । अरूसँग भन्दा मसँग दुवै पक्षका साथीहरू अलि सहज महसुस गर्नुहुन्छ ।

    कांग्रेसमा पदका आकांक्षी धेरै छन् । तिनलाई व्यवस्थापन गर्नका लागि विधान संशोधनको कुरा पनि आइरहेको छ । कस्तो हुन्छ अबको विधान ?
    कांग्रेसमा प्राविधिक समस्या छ । धेरै वरिष्ठ साथीहरू छन् । अरू पार्टीको हाम्रो पार्टीका दोस्रो पुस्ताका साथीहरू नै धेरै सिनियर हुनुहुन्छ । त्यसले गर्दा अलिकति समस्या छ । अरू पार्टीमा आफूभन्दा जुनियर उपसभापति, महासचिव, सचिव भइसकेको अवस्थामा कांग्रेसभित्र पनि पदाधिकारीको संख्या बढाउनुपर्छ भन्ने आवाज उठिरहेको छ । अहिले संविधानले देशलाई प्रदेशमा विभाजित गरको छ । सात प्रदेशको स्वरूपअनुसार विधानमा व्यवस्था गर्नुपर्छ । संविधानअनुसार पार्टीको विधान परिवर्तन हुनुपर्छ भन्ने मलाई लाग्छ ।

    कुनकुन पद बढाउनेतर्फ अहिले छलफल भइरहेको छ ?
    उपसभापति, महामन्त्री, सहमहामन्त्री पद बढाउन सकिन्छ । अब पार्टीले पदाधिकारीहरूलाई प्रदेश–कांग्रेसको इन्चार्जको भूमिका दिन सक्छ । पार्टीका नेताहरूलाई प्रदेश कांग्रेसमा सक्रिय बनाएर, प्रदेशमा काम देखाएर आफ्नो छवि उज्ज्वल बनाउने अवसर दिन सकिन्छ । भारतमा नरेन्द्र मोदी मुख्यमन्त्रीबाट एकैचोटि प्रधानमन्त्री निर्वाचित भएको उदाहरण र अनुभव हेरेर पनि म हाम्रा साथीहरू पनि तलबाट केन्द्रको प्रमुख भूमिकामा आऊन् भन्ने चाहन्छु । राष्ट्रिय राजनीतिमा उदाउनका लागि प्रदेशबाटै आफ्नो व्यक्तित्व र प्रतिभालाई प्रयोग गर्ने ठाउँ प्रशस्त छ ।

    त्यसो भए पदाधिकारीको संख्या बढ्छ, होइन त ?
    त्यो त म अहिल्यै भन्न सक्दिनँ । विधान समितिले कस्तो प्रस्ताव ल्याउँछ त्यसमा निर्भर गर्छ । धेरै साथीहरूले बढाउन आवश्यक छ भनिरहनुभएको छ ।

    संस्थापन पक्षमा नेताहरूलाई व्यवस्थापन गर्न समस्या छ । पदाधिकारी बढाउनैपर्छ भन्ने छ नि ?
    अहिले साथीहरूबाट तीन जनासम्म उसभापति र सात जना महामन्त्री राख्न सकिन्छ भन्नेखालको सुझाव आएको छ । विभिन्न खालका सुझाव छन् ।

    तपाईंको विचारमा पदाधिकारी थप्नु आवश्यक छ कि छैन ?
    पदाधिकारी थप्दा केही नोक्सान हुँदैन । सिनियर नेताहरू पार्टीमा हुनुहुन्छ । उहाँहरूलाई जिम्मेवारी दिन पनि पदाधिकारी थप्नु आवश्यक छ । अब पदाधिकारीका लागि पदाधिकारी मात्रै थप्ने होइन कि जिम्मेवारी पनि बाँडफाँड गर्ने काम गर्नुपर्छ । तीनवटा उपसभापतिले एक/एक जिम्मेवारी लिएर काम गर्ने हो भने पार्टीलाई झनै सशक्त बन्छ । पदाधिकारीलाई बोझ मात्रै ठान्न हुन्न । यसले पार्टीभित्र ठूलो संगठन क्षमता पनि बनाउँछ ।

    कोइरालाले तपाईंलाई सभापतिमा छाडेनन् भने शेरबहादुरतिर लाग्नुहुन्छ भन्ने चर्चा छ नि ?
    मेरो कसैसँग साँठगाँठ गर्ने कुनै कुरा छैन । म अहिले साँठगाँठको पक्षमा छँदै छैन । एकथरीको आकांक्षा र चाहना होला । तर, मेरो चाहना छैन । त्यस्तो राजनीति मलाई ठीक पनि लाग्दैन । पार्टी सभापतिमा आफ्नो आवश्यकता महसुस गरेर अघि बढेको छु । म त्यसमा अडिन्छु । मेरो बार्गेनिङ हुँदैन ।

    दुवै पक्षमा तपाईंलाई अन्तिममा प्रधानमन्त्रीको आस देखाएपछि सभापति रोक्न सकिन्छ भन्ने छ नि ?
    जताबाट प्रधानमन्त्री देखाए पनि मेरो आवश्यकता प्रधानमन्त्रीमा भन्दा पार्टीमा छ भन्ने कुरालाई मैले महसुस गरेको छु ।

    प्रसंग बदलौं, मधेसी मोर्चासितको वार्ता कहाँ पुगेको छ ?
    संविधान जारी भएपछि मधेसमा जुन किसिमको समस्या देखा पर्‍यो, त्यसलाई महसुस गरेर हामीले सम्बोधन गर्ने प्रयास गर्दै थियौं, तर सरकार परिवर्तन भयो । एमालेका केपी ओली प्रधानमन्त्री भएपछि स्थिति फरक भयो र अहिलेसम्म समाधान हुन सकेको छैन । यो स्थिति सम्हालनका लागि कांग्रेसले नेतृत्वदायी प्रयास गरिरहेको छ । मधेसको माग सम्बोधन गर्नकै लागि हामीले निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशीको विषयलाई संविधान संशोधनमा लगेका हौं । अब समस्याको समाधान यही सेरोफेरोबाट खोजिनुपर्छ, सहमतिको मुख्य आधार पनि यही हुने छ । त्यसका अतिरिक्त मधेसीका माग सम्बोधन गर्न केही अरू विषय पनि प्रस्ट गर्नु आवश्यक छ । त्यसका लागि हामी तयारै छौं । मधेसी मोर्चाले सीमांकनलाई बटमलाइन बनाइरहनुभएको छ । सीमांकन मिलाउनुपर्छ भन्दै आउनुभएको छ । हामीले ठिकै छ, यसलाई कति मिलाउन सकिन्छ छलफल गरौं भनेका छौं । तर, यस्तो नहोस् कि यो ठाउँको उता र उताको यता पार्दिनासाथ एक ठाउँमा चलिरहेको आन्दोलन फेरि अर्को ठाउँमा नहोस् । परिस्थिति अरू बिग्रने गरी सीमांकन चलाउन हुँदैन । सुरक्षित ढंगले अलिकति गृहकार्य गरेर फेरबदल गर्न सकिन्छ ।

    एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार मोर्चासँग सहमति हुन्छ भन्नुभएको छ । यति छिट्टै सहमति सम्भव छ ?
    हिजो (शुक्रबार) बेलुका म, प्रचण्ड र महन्थ बसेका थियौं । हामीले अलिकति कुराकानी गरेका छौं । शनिबार चार दल बसेरै कुरा गरौं भनेका थियौं । तर, शनिबार बैठक हुन सकेन । भोलि होला । केही न केही समझदारी बन्छ जस्तो मलाई पनि लाग्छ ।

    मधेसी मोर्चाका नेताहरूले आफ्ना ११ बुँदे मागमा प्याकेजमै सम्बोधन हुनुपर्ने अडान राख्दै आउनुभएको छ नि ?
    मधेसी मोर्चाको मागमा सीमांकनको विषय मुख्य छ । नागरिकता, निर्वाचन क्षेत्र, समानुपातिक समावेशी, सेनाको समावेशिता, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्वलगायतका विषयमा प्रस्ट पार्नुपर्ने माग छन् । सीमांकनबाहेकका अरू विषयमा हामी नजिक छौं । हामी पनि यो राज्य समावेशी होस्, समावेशी बनाएरै लैजानुपर्छ भन्ने पक्षमा छौं । संविधानले पनि संकल्प गरिसकेको छ । अरू विषयमा अप्ठ्यारो जस्तो लाग्दैन । सीमांकनका विषयमा भने थप गृहकार्य गर्नुपर्छ ।

    आन्दोलनरत मधेसी मोर्चासँग सरकारले वार्ताका लागि अग्रसरता देखाउनुपर्ने हो । तर सरकार र मोर्चाबीच वार्ता हुन छाडेर कांग्रेसले अग्रसरता देखाइरहेको छ । यसको मुख्य कारण के हो नि ?
    प्रधानमन्त्री केपी ओली र एमालेसँग मोर्चाको ‘कम्प्लेक्स’ छ जस्तो मलाई लाग्छ । कांग्रेस र मधेसको सम्बन्ध छुट्टैखालको छ । मधेसको मागमा कांग्रेस अलि खुला छ र मोर्चासँगको सम्बन्ध पनि घनिष्ठ नै छ । मधेससँग संवाद र छलफल गर्नका लागि कांग्रेसको जुन किसिमको हैसियत छ, त्यसलाई हामीले उपयोग गरिरहेका हौं । कांग्रेस ठूलो पार्टी र मधेससँगको छुट्टै सम्बन्धका कारणले पनि कांग्रेसले अहिलेको समस्या समाधानका लागि वार्ताको अग्रसरता लिएको हो । सहमति गराउन हामीले प्रयास गरिरहेका छौं ।

    मधेसी मोर्चासँग कहिलेसम्म सहमति होला ?
    यो धेरै लामो जाँदैन । लम्ब्याउन पनि हुँदैन । मधेस आन्दोलन आन्दोलनकारीको हितमा पनि छैन । आन्दोलनकारी दलले जुन कुरा राख्दै आउनुभएको छ, त्यसलाई मिलाएर लैजान प्रमुख राजनीतिक शक्तिहरू तयार भएपछि आन्दोलन लम्ब्याएर फाइदा छैन । आन्दोलन लम्ब्याउनु कुनै पनि शक्तिका लागि प्रिय हुन्न । यसलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउनु नै सबैको कल्याणमा छ ।

    सीमांकनबाहेक सबै विषयलाई एउटै प्याकेजमा संविधान संशोधन गर्न लागिरहनुभएको हो ?
    संसद्मा छलफल भइसकेको दुइटा संशोधनलाई पारित गर्ने र अरू विषयलाई पनि सँगसँगै संशोधनका लागि लैजान सकिन्छ ।

    सीमांकनका विषयमा बाहिर आएजस्तै तीन महिनाभित्रमा मिलाउने सहमति जुट्न लागेको हो ?
    यो विषय मिलाउन तीन महिना लाग्छ । हाम्रो पार्टीको महाधिवेशन पनि सुरु हुन लागेकाले हामीलाई त्यतातिर व्यस्त हुनुपर्ने छ । त्यसैले केही समय उहाँहरूले धैर्य राखेर गृहकार्य राम्रो गरी मिलाउनुपर्छ ।

    सरकारको कामकारबाहीलाई कसरी लिनुभएको छ ?
    सरकारले गरी खाने मेसो ल्याएन । जुन कुरामा प्राथमिकता दिनुपथ्र्यो, दिएन । सबलाई बटुल्ने, ठूलो मन्त्रिपरिषद् बनाएपछि मात्रै सरकार सुरक्षित हुन्छ भन्ने मानसिकता बनायो । यो गलत सोचाइ हो । जति संख्या बढाए पनि सरकारले राम्रो काम देखाएन भने टिक्न सक्दैन । अहिलेको मूल मुद्दा भूकम्पपीडितलाई राहत दिने, अहिलेको नाकाबन्दीबाट सिर्जित समस्याको समाधान खोज्ने हो । मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गरेर सहज वातवरण बनाउने हो । त्यतातिर लाग्नुको साटो सरकारले अरू कुरातिर ध्यान केन्द्रित गरेको छ । अहिले सरकार ठीक बाटामा गएको छैन । यद्यपि चाँडै नै सरकार गिराउने आतुरता कांग्रेसको छैन । हाम्रो पार्टी सरकारले राम्रो गति लिओस् भन्ने चाहन्छ ।

    •    उहाँ (कोइराला) फेरि उम्मेदवार हुनुहोला भन्ने लाग्दैन । स्वास्थ्य, विगतको कमिटमेन्ट र सबै परिस्थितिले पनि उहाँ उम्मेदवार हुनुहुन्न ।
    •    मैले व्यक्ति होइन, पार्टीलाई हेर्ने हो । लोकतन्त्र र राष्ट्रलाई हेर्ने हो । अहिले पार्टीको नेतृत्व लिने विषय मेरो दायित्वका रूपमा लिएको छु ।
    •    विधिवत् रूपमा उम्मेदवारी घोषणा त गरेको छैन । तर, चुनाव लड्ने सम्पूर्ण तयारीमा छु ।
    •    मधेस आन्दोलन आन्दोलनकारीको पनि हितमा छैन । आन्दोलनलाई छिटो निष्कर्षमा पुर्‍याउनु नै सबैको कल्याणमा छ ।
    •    सरकारले गरिखाने मेसो ल्याएन । तर, सरकार गिराउने आतुरता कांग्रेसको छैन ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष १९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.