पुस १९, २०७२- नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको विषयलाई लिएर पार्टीभित्र तीव्र ध्रुवीकरण सुरु भएको छ । संस्थापन पक्षबाट सभापति सुशील कोइराला आफैं उम्मेदवार हुने चर्चा चलिरहेका बेला उनलाई साथ दिँदै आएका उपसभापति रामचन्द्र पौडेल यसपटक मैदानमा उत्रिइसकेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवा धेरै समय अघिदेखि नै तयारीमा जुटेका छन् । पार्टीको आसन्न महाधिवेशन, मधेस आन्दोलनलाई निकास दिने सन्दर्भमा कांग्रेसको अगुवाइमा भइरहेको संवाद र सरकारको प्रभावकारिताका विषयमा केन्द्रित रहेर कान्तिपुरका लागि बलराम बानियाँ र कुलचन्द्र न्यौपानेले पौडेलसँग गरेको कुराकानी :
पार्टीको १३ औं महाधिवेशन नजिकिइरहेका बेला तपाईं देश दौडाहा गरिरहनुभएको छ । देश दौडाहा पार्टी सभापतिमा उम्मेदवार हुनका लागि हो ?
संविधानसभाबाट जारी संविधानको प्रचार गर्न तथा सद्भाव र एकताको राष्ट्रिय अभियान लिएर देश दौडाहामा गएको हुँ । सातवटै प्रदेशका जिल्ला र क्षेत्रीय सभापतिलाई राखेर प्रशिक्षण दिने कार्यक्रम गर्यौं । त्यसपछि जिल्ला–जिल्लामा आफ्नो विचार आदानप्रदान गर्ने कार्यक्रम गर्यौं । कार्यकर्तामा रहेको संविधान र प्रधानमन्त्रीमा सभापति सुशील कोइरालाको उम्मेवारी र पराजयबारेको अन्योललाई हटाउने काम गरिरहेका छौं ।
तपार्इंको यो अभियान १३ औं महाधिवेशनमा सभापति बन्ने तयारीका लागि होइन र ?
यो अभियानका क्रममा साथीहरूले दुई/तीनवटा विषय उठाइरहनुभएको छ । १२ औं महाधिवेशनले गुटबन्दी अन्त्य हुन सकेन । भागबन्डा रोक्न सकेन । १३ औं महाधिवेशनले गुटबन्दी र भागबन्डा रोक्नुपर्छ, पार्टीलाई सशक्त र जीवन्त बनाउनुपर्छ । त्यसका लागि परम्परागत शैलीभन्दा फरक ढंगबाट पार्टी चलाउने नेतृत्व चाहियो भन्नुभएको छ । पार्टीलाई अरू प्रतिस्पर्धी दलहरूसँग खरो रूपमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता र ल्याकत भएको नेतृत्व चाहिन्छ र त्यसका लागि लायक तपाईं नै हो भनेर साथीहरूले भन्दै आउनुभएको छ । पार्टीका सामु आएका चुनौतीलाई सामना गर्नका लागि तपाईं पार्टी सभापतिको जिम्मेवारीमा आउनुपर्छ भन्ने जोड साथीहरूको छ । देशभरका साथीहरूको यो चाहनालाई म उपेक्षा गर्न सक्दिनँ । यसले मलाई प्रेरित गरेको छ, लोकतन्त्रको रक्षा गर्न र पार्टीलाई बलियो बनाउन सकिन्छ कि भन्ने मलाई प्रेरणा पनि दिएको छ ।
सभापतिका लागि तपाईं अहिले अघि बढे पनि अन्तिममा खुट्टा टेक्नुहुन्न भनेर भन्नेहरू पार्टीमा धेरै छन् नि ?
मेरो विरोध गर्नेहरूले अरू कुरा नपाएर यस्तो आरोप लगाएका हुन् । हो, इतिहासमा एउटा विशेष परिस्थिति पनि आयो । सधैं चुनावमात्रै लड्ने भन्ने कुरा पनि हुँदैन । मैले आफू संसदीय दलको नेता हुँदाहुँदै प्रधानमन्त्री निर्वाचनमा किन झगडा गर्ने भनेर शेरबहादुरजीलाई निर्विरोध बनाउन छाडेकै हो । म संसदीय दलका नेता हुँदै सुशीलजीले एकपटकका लागि म पार्टीको नेतृत्व गर्छु भन्नुभयो । मैले छाडेर उहाँलाई समर्थन गरेकै हो । पछि पनि सुशीलजीले मैले अहिलेसम्म प्रशासकीय अनुभव लिएको छैन । प्रधानमन्त्री म हुन्छु भन्नुभयो । त्यति बेला पनि मैले छाडेको हो । त्यो छाडेको कुरालाई साथीहरूले खुट्टा टेक्दैन भनेर भनेका हुन् भने मेरो भन्नु केही छैन । मैले उहाँहरूलाई सहयोग गर्नुपर्ने अवस्थामा सहयोग गरेको छु । अहिले पार्टीलाई भागबन्डा र गुटबन्दीबाट जोगाई एकताबद्ध र सुदृढ बनाउन मेरो आवश्यकता छ । उहाँहरूले मलाई छाड्नुपर्छ ।
तपाईंले जसरी कोइरालालाई छोडें भन्नुभयो । अहिले कोइरालासित सहयोग नमागी सभापतिका लागि किन एक्लै दौडन थाल्नुभएको ?
मैले सुशीलजी मात्रै होइन । शेरबहादुरजीलाई पनि यसपटक तपाईंहरूले मलाई सहयोग गर्नुपर्छ भनेर भनेको छु । सुशीलजीले ठिकै छ, साथीहरूसँग एकपटक बसेर कुरा गरौं भन्नुभएको छ । त्योभन्दा बढी उहाँसित कुरा भएको छैन ।
पछिल्लोपटक सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार हुँदा उहाँले पार्टी सभापतिमा तपाईंलाई उठाउने आश्वासन दिएको चर्चा थियो । यथार्थ के हो ?
भन्न त मैले उहाँलाई (कोइराला) उम्मेदवार दिने दिनमै तपाईं प्रधानमन्त्री हुने भएपछि म पार्टी सभापतिका लागि अघि बढ्छु भनेर भनेको हो । उहाँले हुन्छ भनेर भन्नुभएको हो । उहाँले शशांक कोइराला र मिनेन्द्र रिजाललाई राखेर भन्नुभएको हो । राजनीतिमा गरेको यो वाचामा उहाँ कति अडिनुहुन्छ, हुँदैन थाहा छैन । तर, अहिलेको आवश्यकताको मूल्यांकन सबैले गर्नुपर्छ । कांग्रेसलाई कस्तो सक्रियता चाहिएको छ ? कांग्रेसलाई कता लाने हो ? सोच्ने, बोल्ने, त्यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता लिएर म हिँडेको छु ।
तपाईंले यसो भनिरहँदा पार्टीमा कोइराला नेतृत्वको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
गएको कार्यकालको मूल्यांकन र चिराफारा गर्न म अहिले त्यति आवश्यकता ठान्दिनँ । त्यतातिर जान पनि चाहन्नँ । सबैले मूल्यांकन गर्ने विषय हो । सबैले देखेकै कुरा हो । यो कार्यकालमा राम्रो काम पनि भएका छन् । संविधानसभा चुनावमा कांग्रेस ठूलो पार्टी भयो । इतिहासमा अहिलेसम्म गर्न नसकेको संविधानसभाबाट संविधान ल्याउने काम कांग्रेसकै नेतृत्वमा भयो । इतिहासमा त्यसका लागि ककसको योगदान थियो, मूल्यांकन हुँदै जाला । त्यसबाहके पार्टीमा गतिशीलता, क्रियाशीलता जसरी हुनुपथ्र्याे, त्यो हुन सकेको छैन भन्ने साथीहरूलाई लागेको छ ।
तपाईंका विचारमा कोइराला १३ औं महाधिवेशनमा पनि उम्मेदवार बन्नुहुन्छ कि हुन्न ?
कोइराला फेरि उम्मेदवार हुनुहोला भन्ने मलाई लाग्दैन । उहाँको स्वास्थ्य, विगतको कमिटमेन्ट र सबै परिस्थिति हेर्दा उहाँ उम्मेदवार हुनुहुन्न भन्नेमा म विश्वस्त छु ।
कोइराला उम्मेदवार हुनुभएमा तपाईंको स्थिति के हुन्छ ?
मैले व्यक्ति हेर्ने होइन । पार्टीलाई हेर्ने हो । लोकतन्त्र र राष्ट्रलाई हेर्ने हो । यो राष्ट्र अहिले कुन बिन्दुमा आइपुगेको छ ? यो बिन्दुमा आइपुगेको राष्ट्रलाई कति सोचेर, सम्झेर र क्रियाशील भएर जानुपर्छ भन्ने दायित्व मैले बुझेको छु । अहिलेको परिस्थितिमा पार्टीको नेतृत्व लिने विषय मेरो दायित्वका रूपमा लिएको छु । यो निर्णायक दायित्व निर्वाह गर्ने पक्षमा म छु । हिजोसम्म म एउटा सहयोगीको भूमिकामा थिएँ । आज मलाई आफैंले स्टेयरिङ समाट्नुपर्छ । नत्र गाडी कता जान्छ भन्ने चिन्ता छ । व्यक्ति विशेषको कुरा होइन । शेरबहादुरजी, सुशीलजी चुनाव लड्नुहोला, नलड्नुहोला । त्यो बेग्लै कुरा हो । म आफ्नो दायित्व पूरा गर्नेमा दृढ छु ।
संस्थापन पक्ष अहिले विभिन्न गुटमा विभाजित छ । यसलाई तपाईंले कसरी सम्हाल्दै हुनुहुन्छ त ?
यो एक ठाउँमा रहन्छ । एजेन्डा र गतिका साथ पार्टीलाई अघि बढाउन म जसरी लागिरहेको छु, त्यसले सबै साथी एक ठाउँमा आउनुहुन्छ । त्यसैको वरपर सबै रहनुहुन्छ र १३ औं महाधिवेशन सफल हुन्छ ।
तपाईं एक ठाउँमा सभापतिको उम्मेदवार घोषणा गर्ने र अर्को ठाउँमा औपचारिक घोषणा गरेको छैन भन्दै आउनुभएको छ । यसबाट तपाईं अन्तिममा खुट्टा टेक्नुहुन्न भन्ने सबैमा परेको छ नि ?
मैले औपचारिकताको कुरा गरेको हो । मैले विधिवत् र औपचारिक रूपमा उम्मेदवारी घोषणा त गरेको छैन । गर्न बाँकी छ । मेरा समकालीन साथीहरूसँग केही परामर्श बाँकी रहेको र साथीहरूले सल्लाह गरेर घोषणा गरौं भनेका कारणले मात्रै औपचारिक घोषणा नभएको हो । तर, चुनाव लड्ने सम्पूर्ण तयारीमा म छु ।
औपचारिक घोषणा कहिले गर्नुहुन्छ त ?
समय छ । १२ औं महाधिवेशनमा पनि अन्तिम समयमा आएर नै उम्मेदवारीको घोषणा भएको हो ।
कोइरालाले माघको दोस्रो सातासम्म उम्मेदवारी घोषणा नगर्नुहोस् भनेर तपाईंलाई भन्नुभएको चर्चा छ नि ?
माघको दोस्रो साता होइन । एकपटक साथीहरूसँग कुरा गरौं भन्नुभएको छ । म माघको दोस्रो र तेस्रो सातासम्म पर्खेर बस्ने अवस्थामा छैन । चुनावमा जाने तयारीमा गइसकेका छन् । ममात्रै चुप लागेर बस्नुपर्छ भन्ने छैन । सबैले आआफ्नो तयारी गरिसकेकै छन् ।
कोइरालासँग सल्लाह नगरी तपाईं घोषणा गर्ने पक्षमा हुनुहुन्न होइन ?
हो । म एकचोटि उहाँसित परामर्श गर्छु । उहाँले नै मलाई उम्मेदवार भनेर अघि सार्नुहुन्छ जस्तो लाग्छ ।
त्यस्तो विश्वास छ ?
विश्वास छ ।
तर, कोइराला पार्टीको विरासत परिवारभित्रै राख्न १३ औं महाधिवेशनमा पनि उम्मेदवार दिनुहुन्छ भन्ने आम धारणा छ नि ?
उहाँ उठ्नु मात्रैले कोइराला परिवारमै नेतृत्व रहन्छ भन्ने त होइन होला नि । उम्मेदवारी दिएर मात्रै नेतृत्व रहन्छ कि रहँदैन, त्यतातिर पनि सोच्नुपर्यो नि । मूल कुरा पार्टीलाई कसरी एकता गर्ने ? पार्टीको आवश्यकता के हो भन्ने सोच्नुपर्छ ।
पार्टीभित्र त तपाईंहरू तीनै जना नेता असफल भएकाले नेतृत्व तल्लो तहमा आउनुपर्छ भन्ने माग पनि उठेको छ नि । त्यो कतिको सम्भव देख्नुहुन्छ ?
अहिले तीन नेताबाट नेतृत्व तल आउने सम्भावना देखिएको छैन । पार्टीभित्र विश्वसनीयता, स्वीकार्य र मान्यताको कुरा पनि हुन्छ । धेरै कुरा मिलेर मात्रै नेतृत्वलाई स्वीकार गरिन्छ । तीन नेता असफल भए भन्ने कुरा नारा लगाउनका लागि मात्रै हो । सिंगो पार्टी असफल भएको हो भने त्यो भन्नुपर्यो । केन्द्रीय कार्यसमिति असफल भएको हो भने त्यो भन्नुपर्यो । पार्टी असफल भयो भन्ने हो भने बीपीको पालामा नभएको संविधानसभाबाट संविधान ल्याउने कामको नेतृत्व अहिलेको नेतृत्वले नै गरेको हो । गणेशमान, किसुनजी र गिरिजाबाबुले गर्न नसकेका काम अहिले हामीले गरेका छौं । प्रधानमन्त्रीको चुनावमा हारेकै कारणले मात्र पार्टी असफल हुँदैन । पार्टीले चुनाव हारे पनि राजनीति हारेको छैन । आफ्नो राजनीतिक हैसियत जोगाएको छ । मधेससँग संवाद गर्ने हैसियत बनाएको छ । कांग्रेसले प्रतिपक्षका रूपमा आफ्नो भूमिकालाई बचाएको छ । भोलिको राजनीति सुरक्षित छ । अहिले दुई दिन पद नपाएको भरमा हामीले हातखुट्टा छाडेर आत्तिनुपर्ने अवस्था छैन ।
यसपालि पनि महाधिवेशनमा नीतिभन्दा नेताकै बढी चर्चा हुन थाल्यो हैन ?
नीति र कार्यक्रम त केही मान्छेलाई जिम्मा दिने, बनाउने र महाधिवेशनमा लगेर छलफल गरेर पारित गर्ने हाम्रो पार्टीको परम्परा हो । हाम्रो पार्टीमा कार्ययोजना, नीति लिएर नेतृत्वका लागि बहस गर्ने, अलगअलग नीतिमा बहस गर्ने परम्परा छैन ।
तपाईं फरक ढंगले पार्टी हाँक्छु भन्ने तर नीति र कार्यक्रम नदिई आफू मात्रै अघि बढ्दा कार्यकर्ताले कसरी विश्वास गर्न सक्छन् ?
म त आफ्नो दृष्टिकोण र कार्यक्रम मतदाता साथीहरूसँग राख्छु । कांग्रेसको अबको बाटो र सांगठनिक स्वरूपका विषयमा म स्पष्टताका साथ मतदातासँग उभिन्छु ।
तपाईंले पार्टीभित्रको साठी र चालिसको भागबन्डा अन्त्य गर्छु भन्दै आउनुभएको छ । कसरी अन्त्य गर्ने योजना छ ?
अहिलेको संविधानले देशलाई जुन खालको परिवर्तनतर्फ अघि बढाइरहेको छ । त्यसलाई नेतृत्व दिएर जान सक्ने कांग्रेस बन्नुपर्छ । हाम्रो व्यवहार, आचरण र कार्यशैलीको परिवर्तन हुनुपर्छ भन्ने मेरा मान्यता छ । अर्को संगठनमा सीमाभन्दा बाहिर गुटबन्दी र खुलेआम भागबन्डा चलिरहेको छ । त्यसको अन्त्य हुनुपर्छ र भागबन्डाको साटो मूल्यांकनको राजनीति सुरु हुनुपर्छ भन्ने मेरो अठोट छ । त्यसलाई मैले मेरो कामकारबाहीका व्यवहारमा उतारेको पनि छु । मैले पाएको जिम्मेवारी केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान बनाउँदा र कार्यक्रम सञ्चालन गर्दासम्म मैले मूल्यांकनका आधारमा साथीहरूलाई समेटेको छ । यसका आधारमा पनि मलाई विश्वास छ कि बिनाभागबन्डा नै पार्टीलाई अघि बढाउन सकिन्छ भन्नेमा । साथीहरूको सुरक्षा गर्न सकिन्छ । अरूसँग भन्दा मसँग दुवै पक्षका साथीहरू अलि सहज महसुस गर्नुहुन्छ ।
कांग्रेसमा पदका आकांक्षी धेरै छन् । तिनलाई व्यवस्थापन गर्नका लागि विधान संशोधनको कुरा पनि आइरहेको छ । कस्तो हुन्छ अबको विधान ?
कांग्रेसमा प्राविधिक समस्या छ । धेरै वरिष्ठ साथीहरू छन् । अरू पार्टीको हाम्रो पार्टीका दोस्रो पुस्ताका साथीहरू नै धेरै सिनियर हुनुहुन्छ । त्यसले गर्दा अलिकति समस्या छ । अरू पार्टीमा आफूभन्दा जुनियर उपसभापति, महासचिव, सचिव भइसकेको अवस्थामा कांग्रेसभित्र पनि पदाधिकारीको संख्या बढाउनुपर्छ भन्ने आवाज उठिरहेको छ । अहिले संविधानले देशलाई प्रदेशमा विभाजित गरको छ । सात प्रदेशको स्वरूपअनुसार विधानमा व्यवस्था गर्नुपर्छ । संविधानअनुसार पार्टीको विधान परिवर्तन हुनुपर्छ भन्ने मलाई लाग्छ ।
कुनकुन पद बढाउनेतर्फ अहिले छलफल भइरहेको छ ?
उपसभापति, महामन्त्री, सहमहामन्त्री पद बढाउन सकिन्छ । अब पार्टीले पदाधिकारीहरूलाई प्रदेश–कांग्रेसको इन्चार्जको भूमिका दिन सक्छ । पार्टीका नेताहरूलाई प्रदेश कांग्रेसमा सक्रिय बनाएर, प्रदेशमा काम देखाएर आफ्नो छवि उज्ज्वल बनाउने अवसर दिन सकिन्छ । भारतमा नरेन्द्र मोदी मुख्यमन्त्रीबाट एकैचोटि प्रधानमन्त्री निर्वाचित भएको उदाहरण र अनुभव हेरेर पनि म हाम्रा साथीहरू पनि तलबाट केन्द्रको प्रमुख भूमिकामा आऊन् भन्ने चाहन्छु । राष्ट्रिय राजनीतिमा उदाउनका लागि प्रदेशबाटै आफ्नो व्यक्तित्व र प्रतिभालाई प्रयोग गर्ने ठाउँ प्रशस्त छ ।
त्यसो भए पदाधिकारीको संख्या बढ्छ, होइन त ?
त्यो त म अहिल्यै भन्न सक्दिनँ । विधान समितिले कस्तो प्रस्ताव ल्याउँछ त्यसमा निर्भर गर्छ । धेरै साथीहरूले बढाउन आवश्यक छ भनिरहनुभएको छ ।
संस्थापन पक्षमा नेताहरूलाई व्यवस्थापन गर्न समस्या छ । पदाधिकारी बढाउनैपर्छ भन्ने छ नि ?
अहिले साथीहरूबाट तीन जनासम्म उसभापति र सात जना महामन्त्री राख्न सकिन्छ भन्नेखालको सुझाव आएको छ । विभिन्न खालका सुझाव छन् ।
तपाईंको विचारमा पदाधिकारी थप्नु आवश्यक छ कि छैन ?
पदाधिकारी थप्दा केही नोक्सान हुँदैन । सिनियर नेताहरू पार्टीमा हुनुहुन्छ । उहाँहरूलाई जिम्मेवारी दिन पनि पदाधिकारी थप्नु आवश्यक छ । अब पदाधिकारीका लागि पदाधिकारी मात्रै थप्ने होइन कि जिम्मेवारी पनि बाँडफाँड गर्ने काम गर्नुपर्छ । तीनवटा उपसभापतिले एक/एक जिम्मेवारी लिएर काम गर्ने हो भने पार्टीलाई झनै सशक्त बन्छ । पदाधिकारीलाई बोझ मात्रै ठान्न हुन्न । यसले पार्टीभित्र ठूलो संगठन क्षमता पनि बनाउँछ ।
कोइरालाले तपाईंलाई सभापतिमा छाडेनन् भने शेरबहादुरतिर लाग्नुहुन्छ भन्ने चर्चा छ नि ?
मेरो कसैसँग साँठगाँठ गर्ने कुनै कुरा छैन । म अहिले साँठगाँठको पक्षमा छँदै छैन । एकथरीको आकांक्षा र चाहना होला । तर, मेरो चाहना छैन । त्यस्तो राजनीति मलाई ठीक पनि लाग्दैन । पार्टी सभापतिमा आफ्नो आवश्यकता महसुस गरेर अघि बढेको छु । म त्यसमा अडिन्छु । मेरो बार्गेनिङ हुँदैन ।
दुवै पक्षमा तपाईंलाई अन्तिममा प्रधानमन्त्रीको आस देखाएपछि सभापति रोक्न सकिन्छ भन्ने छ नि ?
जताबाट प्रधानमन्त्री देखाए पनि मेरो आवश्यकता प्रधानमन्त्रीमा भन्दा पार्टीमा छ भन्ने कुरालाई मैले महसुस गरेको छु ।
प्रसंग बदलौं, मधेसी मोर्चासितको वार्ता कहाँ पुगेको छ ?
संविधान जारी भएपछि मधेसमा जुन किसिमको समस्या देखा पर्यो, त्यसलाई महसुस गरेर हामीले सम्बोधन गर्ने प्रयास गर्दै थियौं, तर सरकार परिवर्तन भयो । एमालेका केपी ओली प्रधानमन्त्री भएपछि स्थिति फरक भयो र अहिलेसम्म समाधान हुन सकेको छैन । यो स्थिति सम्हालनका लागि कांग्रेसले नेतृत्वदायी प्रयास गरिरहेको छ । मधेसको माग सम्बोधन गर्नकै लागि हामीले निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशीको विषयलाई संविधान संशोधनमा लगेका हौं । अब समस्याको समाधान यही सेरोफेरोबाट खोजिनुपर्छ, सहमतिको मुख्य आधार पनि यही हुने छ । त्यसका अतिरिक्त मधेसीका माग सम्बोधन गर्न केही अरू विषय पनि प्रस्ट गर्नु आवश्यक छ । त्यसका लागि हामी तयारै छौं । मधेसी मोर्चाले सीमांकनलाई बटमलाइन बनाइरहनुभएको छ । सीमांकन मिलाउनुपर्छ भन्दै आउनुभएको छ । हामीले ठिकै छ, यसलाई कति मिलाउन सकिन्छ छलफल गरौं भनेका छौं । तर, यस्तो नहोस् कि यो ठाउँको उता र उताको यता पार्दिनासाथ एक ठाउँमा चलिरहेको आन्दोलन फेरि अर्को ठाउँमा नहोस् । परिस्थिति अरू बिग्रने गरी सीमांकन चलाउन हुँदैन । सुरक्षित ढंगले अलिकति गृहकार्य गरेर फेरबदल गर्न सकिन्छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार मोर्चासँग सहमति हुन्छ भन्नुभएको छ । यति छिट्टै सहमति सम्भव छ ?
हिजो (शुक्रबार) बेलुका म, प्रचण्ड र महन्थ बसेका थियौं । हामीले अलिकति कुराकानी गरेका छौं । शनिबार चार दल बसेरै कुरा गरौं भनेका थियौं । तर, शनिबार बैठक हुन सकेन । भोलि होला । केही न केही समझदारी बन्छ जस्तो मलाई पनि लाग्छ ।
मधेसी मोर्चाका नेताहरूले आफ्ना ११ बुँदे मागमा प्याकेजमै सम्बोधन हुनुपर्ने अडान राख्दै आउनुभएको छ नि ?
मधेसी मोर्चाको मागमा सीमांकनको विषय मुख्य छ । नागरिकता, निर्वाचन क्षेत्र, समानुपातिक समावेशी, सेनाको समावेशिता, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्वलगायतका विषयमा प्रस्ट पार्नुपर्ने माग छन् । सीमांकनबाहेकका अरू विषयमा हामी नजिक छौं । हामी पनि यो राज्य समावेशी होस्, समावेशी बनाएरै लैजानुपर्छ भन्ने पक्षमा छौं । संविधानले पनि संकल्प गरिसकेको छ । अरू विषयमा अप्ठ्यारो जस्तो लाग्दैन । सीमांकनका विषयमा भने थप गृहकार्य गर्नुपर्छ ।
आन्दोलनरत मधेसी मोर्चासँग सरकारले वार्ताका लागि अग्रसरता देखाउनुपर्ने हो । तर सरकार र मोर्चाबीच वार्ता हुन छाडेर कांग्रेसले अग्रसरता देखाइरहेको छ । यसको मुख्य कारण के हो नि ?
प्रधानमन्त्री केपी ओली र एमालेसँग मोर्चाको ‘कम्प्लेक्स’ छ जस्तो मलाई लाग्छ । कांग्रेस र मधेसको सम्बन्ध छुट्टैखालको छ । मधेसको मागमा कांग्रेस अलि खुला छ र मोर्चासँगको सम्बन्ध पनि घनिष्ठ नै छ । मधेससँग संवाद र छलफल गर्नका लागि कांग्रेसको जुन किसिमको हैसियत छ, त्यसलाई हामीले उपयोग गरिरहेका हौं । कांग्रेस ठूलो पार्टी र मधेससँगको छुट्टै सम्बन्धका कारणले पनि कांग्रेसले अहिलेको समस्या समाधानका लागि वार्ताको अग्रसरता लिएको हो । सहमति गराउन हामीले प्रयास गरिरहेका छौं ।
मधेसी मोर्चासँग कहिलेसम्म सहमति होला ?
यो धेरै लामो जाँदैन । लम्ब्याउन पनि हुँदैन । मधेस आन्दोलन आन्दोलनकारीको हितमा पनि छैन । आन्दोलनकारी दलले जुन कुरा राख्दै आउनुभएको छ, त्यसलाई मिलाएर लैजान प्रमुख राजनीतिक शक्तिहरू तयार भएपछि आन्दोलन लम्ब्याएर फाइदा छैन । आन्दोलन लम्ब्याउनु कुनै पनि शक्तिका लागि प्रिय हुन्न । यसलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउनु नै सबैको कल्याणमा छ ।
सीमांकनबाहेक सबै विषयलाई एउटै प्याकेजमा संविधान संशोधन गर्न लागिरहनुभएको हो ?
संसद्मा छलफल भइसकेको दुइटा संशोधनलाई पारित गर्ने र अरू विषयलाई पनि सँगसँगै संशोधनका लागि लैजान सकिन्छ ।
सीमांकनका विषयमा बाहिर आएजस्तै तीन महिनाभित्रमा मिलाउने सहमति जुट्न लागेको हो ?
यो विषय मिलाउन तीन महिना लाग्छ । हाम्रो पार्टीको महाधिवेशन पनि सुरु हुन लागेकाले हामीलाई त्यतातिर व्यस्त हुनुपर्ने छ । त्यसैले केही समय उहाँहरूले धैर्य राखेर गृहकार्य राम्रो गरी मिलाउनुपर्छ ।
सरकारको कामकारबाहीलाई कसरी लिनुभएको छ ?
सरकारले गरी खाने मेसो ल्याएन । जुन कुरामा प्राथमिकता दिनुपथ्र्यो, दिएन । सबलाई बटुल्ने, ठूलो मन्त्रिपरिषद् बनाएपछि मात्रै सरकार सुरक्षित हुन्छ भन्ने मानसिकता बनायो । यो गलत सोचाइ हो । जति संख्या बढाए पनि सरकारले राम्रो काम देखाएन भने टिक्न सक्दैन । अहिलेको मूल मुद्दा भूकम्पपीडितलाई राहत दिने, अहिलेको नाकाबन्दीबाट सिर्जित समस्याको समाधान खोज्ने हो । मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गरेर सहज वातवरण बनाउने हो । त्यतातिर लाग्नुको साटो सरकारले अरू कुरातिर ध्यान केन्द्रित गरेको छ । अहिले सरकार ठीक बाटामा गएको छैन । यद्यपि चाँडै नै सरकार गिराउने आतुरता कांग्रेसको छैन । हाम्रो पार्टी सरकारले राम्रो गति लिओस् भन्ने चाहन्छ ।
- उहाँ (कोइराला) फेरि उम्मेदवार हुनुहोला भन्ने लाग्दैन । स्वास्थ्य, विगतको कमिटमेन्ट र सबै परिस्थितिले पनि उहाँ उम्मेदवार हुनुहुन्न ।
- मैले व्यक्ति होइन, पार्टीलाई हेर्ने हो । लोकतन्त्र र राष्ट्रलाई हेर्ने हो । अहिले पार्टीको नेतृत्व लिने विषय मेरो दायित्वका रूपमा लिएको छु ।
- विधिवत् रूपमा उम्मेदवारी घोषणा त गरेको छैन । तर, चुनाव लड्ने सम्पूर्ण तयारीमा छु ।
- मधेस आन्दोलन आन्दोलनकारीको पनि हितमा छैन । आन्दोलनलाई छिटो निष्कर्षमा पुर्याउनु नै सबैको कल्याणमा छ ।
- सरकारले गरिखाने मेसो ल्याएन । तर, सरकार गिराउने आतुरता कांग्रेसको छैन ।
ekantipur





















