गाेरखा । आगामी बुधबारसम्म देशका हिमाली र पहाडी भागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिजाे शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी बुधबारसम्म देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने देखिएको हो ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भागमा आंशिक बदली हुने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
सोमबार पनि देशका हिमाली र पहाडी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
मङ्गलबार र बुधबार देशभर आंशिक बदली हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
महाशाखाका अनुसार तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ । यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ ।
महाशाखाले कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन । यद्यपि, पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिन सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।


