एजेन्सी । फ्रान्स सरकारले अक्टोबर १७ मा भएको हिंसा र लुटपाट नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी शनिबार हुने प्रदर्शनका लागि प्रहरीसँगै सेना पनि परिचालन गर्ने भएको छ ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले मङ्गलबार आगामी शनिबार व्यापक सुरक्षा व्यवस्था लागू गरिने बताएका हुन् ।
अक्टोबर १७ मा पेरिस, मार्से, लियोनलगायत सहरमा हिंसा र लुटपाट भएपछि सरकारले सुरक्षा रणनीति परिवर्तन गर्ने जनाएको छ ।
गृहमन्त्री लरेन नुनेजले पनि प्रहरीसँगै सेना परिचालन गरिने बताएका छन् । उनले पछिल्लो प्रदर्शनका घटनामा भएका कमजोरीप्रति दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी स्वीकार गरे ।
प्रधानमन्त्री लेकोर्नुले गुप्तचर सूचनामा कमजोरी भएको, प्रहरी परिचालन प्रभावकारी नभएको र प्रहरीको पूर्वनिर्धारित बिदा रद्द नगरिएको स्वीकार गरेका छन् ।
हिंसापछि प्रभावित क्षेत्रमा लगाइएका स्थानीय कर्फ्युले स्थिति नियन्त्रणमा ल्याउन सहयोग गरेको सरकारले जनाएको छ । केही क्षेत्रमा १८ वर्षमुनिका बालबालिकामाथि समेत निषेधाज्ञा लागू गरिएको छ ।
यसैबीच, फ्रान्सको संसद्ले हिंसाका कारणबारे छानबिन गर्न आयोग गठन गर्ने तयारी गरेको छ । घटनामा संलग्न व्यक्तिको पहिचान र खोजीका लागि २०० जना अनुसन्धानकर्ता परिचालन गरिएको छ । लिमोज सहरको ऐतिहासिक नगर भवनमा आगजनी गरेको आशंकामा मङ्गलबार १ व्यक्ति पक्राउ परेका छन् ।
महँगी, इन्धनको बढ्दो मूल्य र सार्वजनिक सेवामा बजेट अभावलाई लिएर असन्तुष्टि बढिरहेका बेला विद्यार्थी संगठन यूएनईएफले आगामी शनिबार पनि प्रदर्शन गर्ने घोषणा गरेको छ ।


