एजेन्सी । क्यानडाको अलबर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा परी ४ जना सैनिकको मृत्यु भएको छ भने दर्जानौँ घाइते भएका छन् ।
ओटावाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मार्क कार्नीले यो घटनालाई शान्तिकालमा क्यानेडियन सेनाले भोगेका ठूला त्रासदीमध्ये एक भएको बताएका छन् ।
स्थानीय समय अनुसार शनिबार अपरान्ह क्यानेडियन फोर्सेज बेस वेनराइट सैन्य तालिम केन्द्रमा आगलागी सुरु भएको थियो । आगलागीलाई नियन्त्रणमा लिइसकिएको छ भने यसको स्पष्ट कारण अझै खुल्न सकेको छैन ।
अधिकारीहरूले यो घटना आतङ्ककारी गतिविधिसँग जोडिएको कुनै सङ्केत नरहेको जनाएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्नीले भने, ‘देशले वीर सैनिकहरू गुमाएकोमा सम्पूर्ण राष्ट्र शोकमग्न छ ।’
मृत्यु हुनेहरूमा सर्जेन्ट मोर्गन वोङ, प्राइभेट सन फ्यारेल, प्राइभेट एडन गुल्डिङ र प्राइभेट हेडेन लिक्केमार्क रहेका छन् । अस्पतालमा उपचाररत ३९ जना घाइतेहरूमध्ये कम्तीमा १९ जनाको अवस्था गम्भीर रहेको अलबर्टाकी प्रिमियर ड्यानिएल स्मिथले जानकारी दिएकी छन् ।
तालिम केन्द्रको एउटा दायरामा सैनिकहरूले प्रत्यक्ष गोलाबारुदसहित लडाइँको तालिम गरिरहेका थिए । सोही क्रममा करिब १ किलोमिटर टाढा घाँसमा सल्केको आगो तीव्र हावाका कारण फैलिएर तालिम भइरहेको क्षेत्रतर्फ बढेको सैन्य अधिकारीहरूले बताएका छन् । घाइते हुनेहरूमा ‘प्रिन्सेस प्याट्रिसियाज क्यानेडियन लाइट इन्फ्यान्ट्री’ का सैनिक तथा रिजर्भिस्टहरू रहेका छन् ।
घटनालगत्तै स्थानीय अस्पतालहरूमा शतर्कता अपनाइएको थियो भने घाइतेहरूलाई हेलिकप्टर र एम्बुलेन्समार्फत अलबर्टाका विभिन्न अस्पतालहरूमा पुर्याइएको थियो । उद्धार तथा उपचार कार्यमा दर्जनौँ एम्बुलेन्स तथा वायु सेवा तैनाथ गरिएको छ । सैन्य अधिकारीहरूले घटनाको थप अनुसन्धान जारी रहेको जनाएका छन् ।


