गाेरखा । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका-५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदैगरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराती ठक्कर दिदाँ मोटरसाइकल चालक धनुषाधाम नगरपालिका-७ निवासी २० बर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले पुष्टी गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते धिरजलाई तत्काल उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएकोमा तत्काल चिकित्सकले मृत घोषणा गरेको हो ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार १६ बर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका-२ निवासी २० बर्षीय राकेश मण्डल घाइते भएको प्रहरी जनाएकाे छ ।
घाईते मध्ये निरजको अवस्था गम्भीर रहेको छ । दुबै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टर अस्पतालमा उपचार भईरहेको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।


