एजेन्सी । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये कम्तीमा पनि ६ जनाको अवस्था गम्भीर रहेको भारतीय संञ्चारमाध्यमहरुले जनाएका छन् ।
आइतबार बिहान करिब १:३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो । उक्त सडकमा भारी सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको भए पनि ट्रकले प्रहरीका अवरोध तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएको थियो । त्यसपछि ट्रक मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो ।
दुर्घटनापछि ३९ जनालाई अस्पताल पुर्याइएको र तीमध्ये १२ जनाको मृत्यु भएको सिंहले जानकारी दिएका छन् । उक्त घटनामा ड्युटीमा रहेका २ जना प्रहरी कर्मचारीसमेत घाइते भएका छन् ।
ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानले उद्धारका लागि तत्काल एम्बुलेन्स र अन्य सवारीसाधन पठाइएको बताएकी छन् । दुर्घटनाको कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने र नवरात्रका बेला राखिएका प्रहरी अवरोध तथा जाँच चौकी पार गरेर ट्रक कसरी उक्त सडकमा प्रवेश गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको चौहानले जानकारी दिएकी छन् ।
एक प्रत्यक्षदर्शीका अनुसार ट्रकमा क्षमताभन्दा बढी भार रहेको र त्यसले पसल तथा मानिसहरूलाई ठक्कर दिएको थियो । ती प्रत्यक्षदर्शीका भाइसमेत सोही दुर्घटनामा परी घाइते भएका छन् ।


