गाेरखा । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत आज पाँचौँ दिन बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ ।
निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुन लागेको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने गरी सम्पूर्ण तयारी मिलाइएको छ ।
४ पदाधिकारीकाे उम्मेदवारी फिर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएका ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मङ्गलबार उम्मेदवारी दिएका उनीहरूले बुधबार निर्वाचन समितिले फिर्ता लिनका लागि दिएको समयमा उम्मेदवारी फिर्ता लिएका हुन् ।
फिर्ता लिनेमा १ सभापति २ खुल्ला उपसभापति र १ दलित कलस्टरको सहमहामन्त्रीका उम्मेदवार छन् । सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै, खुलातर्फका उपसभापतिका उम्मेदवारद्वय डा.मिनेन्द्र रिजाल र देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, सह महामन्त्रीमा दलित कलस्टरतर्फ उम्मेदवारी दिएकी लक्ष्मी परियारले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
विश्वप्रकाशसहित ३ जना निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि तय भएको निर्वाचनअघि नै ३ जना उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपासभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।
सभापतिसहित अन्य बाँकी पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुदैछ । सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।


