गाेरखा । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।
जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी लुम्बिनी प्रदेशको केही ठाउँ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराई भागमा साधरणतया बादल तथा बाँकी तराई भागमा आंशिक बादल लाग्ने अनुुमान गरिएकाे छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा चट्याङ्ग र असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागको केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भागका थाेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख गरेकाे छ ।
आजै राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ भने देशको पहाडी भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भागमा थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


