गाेरखा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागमा पश्चिमी वायुको असर परेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
कोशी, मधेस र बागमती प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
लुम्बिनी प्रदेशका तराई भागमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही स्थान र बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली भाग एवं देशका तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ ।
आजै दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्छ । ती प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ ।
मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


