गाेरखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटनसत्र दिउँसो २ बजे सुरु हुने छ ।
२००३ सालमा स्थापित कांग्रेसका यसअघि १४ महाधिवशेन सम्पन्न भइसकेका छन् । त्यसबाट अहिलेसम्म नेतृत्वमा १० जना पुगेको देखिन्छ । पार्टी स्थापनाको ८० वर्षसम्म कुन महाधिवेशन कहाँ भए ? को–को नेतृत्वमा पुगे आउनुहाेस हामी पनि जानी राखाैं ।
१) स्थापनाकालमा कांग्रेसको नाम नेपाली राष्ट्रिय कांग्रेस थियो । पार्टीको त्यही नामबाट २००३ माघ १२ र १३ गते भारतको कोलकातास्थित भवानीपुरमा भएको सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशन भन्ने गरिएको छ । सम्मेलनले टंकप्रसाद आचार्यलाई सर्वसम्मत सभापति बनाएको थियो ।
२) पहिलो महाधिवेशन भएको २ महिनामै कांग्रेसको दोस्रो महाधिवेशन भयो । २००३ फागुन २१ मा विराटनगरस्थित जुद्ध जुट मिलमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको नेतृत्वमा हडताल भयो । त्यो हडतालको नेतृत्व गर्न पुगेका कार्यवाहक सभापति बीपी कोइराला विराटनगर पुगेको बेलामा फागुन २६ गते पक्राउ परे । बीपी पक्राउ परेपछि २००३ चैत २७ र २८ जोगबनीमा भएको पार्टी प्रतिनिधिहरूको सम्मेलनले कार्यकारी सभापतिमा मातृकाप्रसाद कोइरालालाई चयन गर्यो ।
३) त्यसको २ वर्षपछि २००५ फागुन १८–२० गते भारतकै दरभंगामा नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो अधिवेशन भयो र मातृकाप्रसाद कोइराला सभापति बने ।
४) भारतको कोलकाताको टाइगर सिनेमा हलमा २००६ चैत २७ र २८ गते चौथो महाधिवेशन भयो । त्यो महाधिवेशनले पार्टीको नाम फेरेर ‘नेपाली कांग्रेस’ राख्यो । त्यो महाधिवेशनबाट पनि सभापति मातृकाप्रसाद कोइराला नै बने ।
५) नेपाली कांग्रेस बनेपछि पाँचौँ महाधिवेशन जनकपुरमा भयो । २००९ जेठ १० देखि १२ सम्म भएको महाधिवेशनले बीपी कोइरालालाई सभापति बनाएको थियाे ।
६) वीरगञ्जमा भएको २०१२ मंसिर १२ देखि १४ गतेसम्म भएको छैटौँ महाधिवेशनबाट गणेशमान सिंहलाई पराजित गर्दै सुवर्णशमशेर राणा सभापतिमा निर्वाचित भएका थिए ।
७) २०१४ जेठ १० र ११ गते विराटनगरमा कांग्रेसको विशेष महाधिवेशन भयो । विशेष महाधिवेशनबाट बीपी कोइराला सर्वसम्मतिबाट पुनः सभापति बने ।
८) काठमाडौँको महाराजगन्जस्थित लक्ष्मी निवासमा २०१७ वैशाख २५ देखि ३१ गतेसम्म भएको सातौँ महाधिवेशनमा सभापतिमा पुन: बीपी कोइराला सभापति भए ।
९) बीपीलाई जेल हालेर पञ्चायती व्यवस्था लागु गरेकाले भारत भ्रमणमा रहेका सुवर्ण शमशेरले ०१७ साल पुसमा भारतको पटनामा बोलाएको सम्मेलनले सुवर्णलाई कार्यवाहक सभापति बनायो ।
१०) २०३४ सालमा पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन आयोजना गरिएको थियो । सातौँ महाधिवेशनबाट सभापति बनेका बीपी कोइरालाले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए ।
११) २०४६ सालको जनमत सङ्ग्रह सफल भएपछि २०४८ सालमा कांग्रेसको आठौँ सम्मेलन भयो । २०४८ साल फागुन १ देखि ३ गते झापामा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्विरोध सभापति भएका थिए ।
१२) २०५३ वैशाख २६ देखि २९ गतेसम्म काठमाडौँमा भएको कांग्रेसको नवौँ महाधिवेशनमा सभापति पदमा चिरञ्जीवी वाग्ले, रामहरि जोशी र गिरिजाप्रसाद कोइरालाले उम्मेदवारी दिएकामा जोशी र वाग्लेलाई पराजित गर्दै कोइराला सभापतिमा निर्वाचित भए ।
१३) २०५७ माघ ७–९ मा पोखरामा भएको कांग्रेसको १०औँ महाधिवेशनमा पनि सभापति पदमा ३ जनाबिच प्रतिस्पर्धा भयो । गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशीले सभापति पदमा उम्मेदवारी दिएका थिए । देउवा र जोशीलाई पराजित गर्दै कोइराला सभापतिमा निर्वाचित भए ।
१४) २०५९ सालमा कांग्रेस विभाजित भएर नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बन्यो । नेपाली कांग्रेसबाट विद्रोह गरी शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए ।
१५) कांग्रेसको ११औँ महाधिवेशन विभाजित २ कांग्रेसले छुट्टाछुट्टै गरे । २०६२ भदौ १४ देखि १७ गतेसम्म कांग्रेसको संस्थापनले सानेपामा महाधिवेशन गर्यो । त्यहाँ गिरिजाप्रसाद कोइराला र नरहरि आचार्यबिच सभापतिमा प्रतिस्पर्धा भयो । कोइराला सभापतिमा निर्वाचित भए ।
१६) नेपाली कांग्रेस (प्रजातान्त्रिक)ले २०६१ माघ १० देखि १३ गतेसम्म ललितपुरको शंखमुलमा महाधिवेशन गर्यो र सभापतिमा शेरबहादुर देउवा नै निरन्तर भए ।
१७) २०६४ असोज ८ गते संयुक्त महासमिति बैठक बसेर दुवै कांग्रेसबिच एकीकरण भयो । एकीकरण भएपछि २०६७ असोज १ देखि ७ गतेसम्म कांग्रेसको १२औँ महाधिवेशन काठमाडौँमा भएकाे महाधिवेशनमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङबिच सभापतिमा प्रतिस्पर्धा भयो । देउवा र तामाङलाई पछि पार्दै सुशील कोइराला सभापतिमा निर्वाचित भए ।
१८) १३औँ महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशन भइरहेका बेलामा सभापति कोइरालाको निधन भयो । कोइरालाको निधनपछि विधानतः कार्यवाहक सभापतिको जिम्मेवारी रामचन्द्र पौडेलले सम्हाले । कार्यवाहक सभापतिका हैसियतमा २०७२ फागुन २०–२३ गतेससम्म पौडेलको नेतृत्वमा भएको १३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाबिच प्रतिस्पर्धा भयो । पहिलो चरणमा उनीहरू कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउन नसकेपछि दोस्रो चरणमा धेरै मत ल्याउने २ जनाबिच प्रतिस्पर्धा भयो । पौडेल र देउवाबिच भएको प्रतिस्पर्धामा पौडेललाई पछि पार्दै देउवा सभापतिमा निर्वाचित भए ।
१९) २०७८ मंसिर २४ देखि २७ गतेसम्म कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँमा भएकाे थियाे । सभापतिमा शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिए । पहिलो चरणमा आवश्यक ५० प्रतिशत मत कसैको पनि आएन । त्यसपछि धेरै मत ल्याउने २ जना शेरबहादुर र डा.शेखरबिचमा दोस्रो चरणमा भएको प्रतिस्पर्धामा देउवा सभापतिमा निर्वाचित भए ।
२०) कांग्रेसमा केन्द्रीय समितिको असहमतिबिच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन भयो । महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्यो ।


