गाेरखा । हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका हिमाली र पहाडी भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती प्रदेशको तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भागमा आंशिक बादल लाग्ने अनुमान छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागको केही स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
आजै राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ । तराई भागमा बिहानीपख हुस्सु लाग्नेछ ।


