गाेरखा । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनलाई राजनीतिक दलहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री शाहले नेपाली समय अनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुली :
नेपालको तर्फबाट विश्वमा राम्रो सन्देश दिएको बताए । ‘पछिल्लो समय नेपालमा भएको प्राकृतिक विपत्ति नियमित बाढी र पहिलो मात्र थिएन । यो जलवायु परिवर्तनबाट सिर्जित परिणाम थियो । यसै विषयलाई लिएर सम्माननीय प्रधानमन्त्रीले दिनुभएको सन्देश र गर्नुभएको आह्वान आजको आवश्यकता र संसारलाई दिनुपर्ने म्यासेज थियो । नेपालको तर्फबाट उहाँले स्पष्ट रूपमा दिनुभएको छ । यसप्रति हामी गौरवान्वित छौँ ।’
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे :
प्रधानमन्त्रीले महासभामा दिएको अभिव्यक्ति देशकै अभिव्यक्ति भएको स्पष्ट पारे । विश्वमञ्चमा उठाउनुपर्ने मुद्दाको सवालमा कांग्रेसले प्रधानमन्त्रीलाई भेटेर नै सुझाव दिएकाले उनको सम्बोधन सकारात्मक भएको चालिसेले बताए । ‘प्रधानमन्त्री कुनै एक दलको प्रतिनिधित्व गरेर गएका होइन, देशकै प्रतिनिधित्व गरेर गएकाले देशकै भाषा बोल्नुभएको छ । हामी जस्ता अल्पविकसित देशका कारणले जलवायु परिवर्तन भएको होइन, विकसित राष्ट्रका कारण साना राष्ट्रहरू मारमा परेका छन् । त्यसको लागि क्षतिपूर्ति माग्नु स्वाभाविक छ’, उनले भने, ‘संयुक्त राष्ट्रसँग महासभामा उठाउने एजेन्डाबारे कांग्रेसले सुझाव दिएको छ । त्यसैगरी अन्य दलहरूले पनि दिएका होलान् । आधुनिक हातियारको होडवाजी भइरहेको बेला स–साना मुलुकले मल, बिउ, ग्यास जस्ता अत्यावश्यक वस्तुहरू नपाउन दुःखद कुरा हो । विश्वमानवको रक्षाका लागि प्रधानमन्त्रीले देशकै मुद्दाका रूपमा हेरेका छौँ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई :
प्रधानमन्त्रीको सम्बोधनको समग्र अन्तरवस्तु र प्रस्तुति सही भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्, ‘प्रमको युएनजीए को सम्बोधनको समग्र अन्तरवस्तु र प्रस्तुति सही छ १ शैली र आस्था त सबैको फरक हुनु स्वाभाविक छ ! बधाई !’
पूर्वमन्त्री एवं एमालेका नेता गोकुल बास्कोटा :
प्रधानमन्त्री शाहको सम्बोधन दृढ र सार्थक लागेको प्रतिक्रिया दिएका छन् । ‘प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो । तर म रास्वपा हैन,उनले देशको भावना बोले –मैले खुसी मनले समर्थन गरेँ’, सामजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का प्रवक्ता प्रकाश ज्वाला :
प्रधानमन्त्री शाहको सम्बोधन सकारात्मक भएको बताएका छन् । अहिलेको सन्दर्भमा नेपालको तर्फबाट उठाउनुपर्ने मुद्दा उनले उठाएको ज्वालाले स्पष्ट पारे । नेपालको तर्फबाट उठाउनुपर्ने मुद्दाहरू प्रधानमन्त्रीले उठाउनु भएको छ, त्यो सकारात्मक छ । ठुला राष्ट्रका कारण साना राष्ट्रहरूले दुःख पाइराखेका छन् । तर हतियार, युद्ध जस्ता कुराहरूको सन्दर्भ जोड्नु प्रसङ्ग बाहिर गयो कि जस्तो लाग्छ’, उनले भने, ‘तैपनि युद्धका लागि हतियार चाँडै पुग्छन्, साना राष्ट्रले मल बिउ पाउँदैन जस्ता कुरालाई सकारात्मक दृष्टिकोणले हेरेमा राम्रो मान्न सकिन्छ । किनकी ठुला राष्ट्रका शक्ति संघर्षको मारमा साना राष्ट्रहरू पर्ने गरेका छन् ।’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन :
प्रधानमन्त्रीको सम्बोधन समय सान्दर्भिक भएको बताए । लिङ्देनले भने, ‘नेपालको तर्फबाट उठाउनुपर्ने विषय प्रधानमन्त्रीले उठाउनुभएको छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । प्रधानमन्त्रीले विश्व मञ्चमा आफ्ना कुरा राख्नु राजनीतिक कुरा पनि आउँछ, आफ्ना स्वार्थका कुरा पनि जोडिन्छ । प्रधानमन्त्री भन्ने पदनै गैर राजनीतिक होइन । त्यसकारणले यसलाई अन्यथा लिनु हुँदैन ।’ यद्यपि राजनीतिक विषयमा छुट्टै समीक्षा हुने भएकाले यसलाई नकारात्मक रूपमा लिन जरुरी नभएको उनले स्पष्ट पारे । जलवायु परिवर्नतको मुद्दामा प्रधानमन्त्री शाहको सन्देश सकारात्मक भएको लिङ्देनले बताए । ‘हिमाली सुनामी भनेर भयाभयको रूपमा विश्वलाई प्रष्ट पार्न खोजिएको हो । प्रधानमन्त्रीको प्रस्तुति ठिक छ, अन्यथा लिन आवश्यक छैन’, उनले भने ।
राप्रपाका नेता कमल थापा :
प्रधानमन्त्री शाहको सम्बोधनलाई प्रशंसनीय भएको टिप्पणी गरे । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्’, ‘संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तुति प्रशंसनीय छ । वेल डन पिएम बालेन शाह पशुपतिनाथले रक्षा गरुन् ।’


