गाेरखा । आज कागे अष्टमी । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे याे पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ ।
यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने जन विश्वास रही आएकाे छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता छ ।
यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास समेत रहेको छ । श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधि समेत रहेको छ ।
गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जन जनविश्वास रहेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ ।
कागे अष्टमी समेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने यो मन्दिरमा भक्तजनहरुकाे घुइचाे नै लाग्ने गर्दछ । मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो ।
यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ ।
कागेश्वरीमा आज लाग्ने मेला भर्न वरपरका जिल्लाका साथै देशका धेरै जसाे जिल्लाबाट भक्तजनहरु त्यहाँ पुग्ने गर्दछ ।
कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वर मन्दिरमा पनि आज पूजा, आराधना गर्न भक्तजन पुग्ने गर्छन् ।


