गाेरखा । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ ।
आज बिहान ६ बजेको मापनमा सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेकाे जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सुनकोशी नदी खुर्कोट, सिन्धुलीमा जलसतह ७.६२ मिटर पुगेको छ । यस नदीमा ७.५ मिटरलाई सतर्कता तह मानिन्छ । हाल यहाँ पानीको बहाव स्थिर रहेको महाशाखाले जनाएकाे छ ।
गाेरखाकाे आरुघाट क्षेत्र हुदै बहने बुढीगण्डकी नदीमा जलसतह ३.६ मिटर पुगेको छ, जबकि यहाँको सतर्कता तह ३.५ मिटर हो । यद्यपि, यहाँ पानीको स्तर विस्तारै घट्दो क्रममा देखिएको छ ।
डडेलधुराकाे पारीगाउँ हुदै बहने महाकाली नदीमा पनि जलसतह ६.३७ मिटर पुगेर सतर्कता तह (५.८ मिटर) पार गरेको छ । यहाँ पानीको बहाव अहिले स्थिर छ ।
नदीहरूमा पानीको सतह बढेर चेतावनीको तहमा पुगेकाले बाढी पूर्वानुमान महाशाखाले ती नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
बाढीको जोखिम कायमै रहने सम्भावना रहेकाले नदी किनारका क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानको पहिचान गरिराख्न प्रशासनले आग्रह गरेको छ ।



