गाेरखा । प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर सांसदको प्रश्नको जबाफ दिन सभामुख डोलप्रसाद अर्यालले रूलिङ गरेका छन् । सभामुखकाे रुलिङ संगै विपक्षी दलहरुले विगत ७७ दिनदेखी गर्दै आएकाे बिराेध सकिएकाे छ ।
प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले महिनाको पहिलो साता प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरुको प्रश्नको जबाफ दिनुपर्ने व्यवस्था छ ।
तर प्रधानमन्त्री शाहले निर्वाचित भएदेखि अहिलेसम्म प्रतिनिधि सभा नियमावली अनुसार सांसदहरुको प्रश्नको जबाफ दिएका छैनन् । प्रधानमन्त्रीले लगातार सांसदहरुको प्रश्नको बेवास्ता गरेपछि सभामुख रुलिङ गर्नुपरेको नयाँ संसदीय इतिहास कायम भएको छ ।
प्रधानमन्त्री शाहले आकस्मिक रुपमा २०८३ जेठ १७ गते सांसदहरुलाई प्रश्न सोध्न लगाएर केही प्रश्नको जबाफ दिएका थिए । तर त्यो प्रश्नोत्तर प्रतिनिधि सभा नियमावली अनुसार थिएन ।
नियमावली अनुसार प्रश्नोत्तर अहिलेसम्म हुन सकेको छैन ।
नियमावली अनुसार सभामुखले प्रश्नोत्तरका लागि मिति तय गर्नुपर्छ । त्यसपछि सांसदहरुले प्रश्न टिपाउँछन् । ती प्रश्नमा प्रधानमन्त्रीले संसदमा जबाफ दिनुपर्छ ।
सभामुखको रुलिङसँगै प्रधानमन्त्री शाहले जनताबाट निर्वाचित जनप्रतिनिधिको थलो संसदलाई नटेरेको घटना संसदीय रेकर्डमा बसेको छ ।


