एजेन्सी । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय १ किशोरले गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ । गोली लागेर २२ जना घाइते भएका छन् ।
सुरुमा आफू बस्दै आएको घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेका उनी पछि देब्सिरिन नामको विद्यालयमा पुगेर गोली चलाएका थिए ।
विद्यालयमा उनले चलाएको गोली लागेर ५ शिक्षकको ज्यान गएको थियो । गोली लागेर घाइते भएका १ विद्यार्थीको पनि उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तमा किशोरले आफैंलाई गोली हानेका थिए ।
प्रहरीका अनुसार किशोरले शुक्रबार स्थानीय समयअनुसार बिहान करिब ५ बजे ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका थिए । त्यसपछि उनी बन्दुक र दर्जनौँ गोली बोकेर विद्यालय जाने बसमा चढेको रोयटर्सले जनाएको छ । उनी बिहान ८:३० बजे पहिलो कक्षामा सहभागी भएका थिए भने ९:२० बजे दोस्रो कक्षा सुरु भएको थियो ।
दोस्रो कक्षा सुरु भएको करिब आधा घण्टापछि उनले बन्दुक निकालेर गोली चलाउन थालेका थिए । प्रहरीका अनुसार उनले विद्यालयको छैटौँ तलामा रहेका शिक्षकहरूमाथि गोली चलाएका थिए, जहाँ ३ शिक्षकको मृत्यु भयो । त्यसपछि उनी भर्याङबाट तल झर्दै गर्दा भेटिएका अरु २ जनालाई पनि गोली हानेर हत्या गरेको प्रहरी अधिकारीले बताएका छन् ।
गोली चलेपछि प्रहरी घटनास्थलमा परिचालन भएको थियो । बिहान करिब १०:४० बजे प्रहरीले किशोरलाई आफैंलाई गोली हानेको अवस्थामा फेला पारेको जनाएको छ ।
प्रहरीका अनुसार ती किशोरले आक्रमणमा प्रयोग गरेको बन्दुक र गोली उनकै हजुरबुबाको थियो । स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त बन्दुक कानुनी रूपमा दर्ता भएको र त्यसका लागि अनुमति पनि लिइएको थियो ।




















