गाेरखा । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेलले ठक्कर दिदा २ नेपाली नागरिकको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।
बाकाउ आपत्कालीन सेवा निर्देशनालय (ISU) का अनुसार, दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि दमकल, एम्बुलेन्स र सघन उपचार मोबाइल युनिटसहितको टोली घटनास्थलमा पुगेको थियो । तर, उद्धार टोली पुग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।
ISU बाकाउले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “रेलको ठक्करबाट २ व्यक्ति घाइते भएको जानकारी पाएसँगै हाम्रो टोली घटनास्थल पुगेको थियो । दुर्भाग्यवश, चिकित्सक टोलीले दुवैलाई मृत घोषित गर्यो ।”
प्रारम्भिक अनुसन्धानअनुसार मृतकहरू नेपाली नागरिक भएको खुलेको छ । यद्यपि, उनीहरूको विस्तृत पहिचान र नेपालमा ठेगाना भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
नेपालीहरू रेलको लिकमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्नेबारे स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।




















