गाेरखा । उत्तरी गाेरखामा सुत्केरीको ज्यान जोखिममा परेपछि हेलिकप्टरबाट उद्धार गरिएकाे छ । उद्वार गरिएकाे महिलालाई हेलिकप्टरमार्फत पोखरा पठाइएको छ ।
चुमनुब्री गाउँपालिका–४, छाककी २९ वर्षीय पेमा खाण्डो लामाको स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई आकस्मिक उद्धार गरी हेली मार्फत पाेखरा लगिएकाे हाे ।
उनकाे पाेखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेकाे छ । गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार सुत्केरी महिलाकाे गर्भमा रहेकाे २९ हप्ताको बच्चा जन्मिएर मृत्यु भएको थियो ।
लगत्तै सुत्केरी महिलाकाे अत्यधिक रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो । महिलाकाे चुमनुब्री गाउँपालिका र प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाले तत्कालै उद्धारका लागि पहल थालेको थियो ।
सुत्केरी महिलालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको हाे ।




















