एजेन्सी । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँग जारी युद्धमा हालसम्म ३७.५ अर्ब अमेरिकी डलर (करिब रु. ५२ खर्ब) खर्च भइसकेको बताएका छन् । उनले अमेरिकी संसदमा दिएको बयानमा यो रकम अझ बढ्न सक्ने भन्दै युद्ध सञ्चालनका लागि थप बजेट आवश्यक रहेको बताएका छन् ।
हेगसेथ र संयुक्त सैन्य प्रमुख जनरल ड्यान केनले सिनेटको सुनुवाइमा सहभागी हुँदै इरानसँगको युद्धका लागि थप अर्बौं डलरको रक्षा बजेट माग गरेका थिए । जनरल केनले युद्धसम्बन्धी निर्णय गर्दा सम्भावित मानवीय क्षति र जोखिमबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराउने आफ्नो जिम्मेवारी रहेको बताए ।
यसैबीच, अमेरिकी सेनाले लगातार ११औँ रात पनि इरानमाथि हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाका अनुसार आक्रमणमा इरानी सैन्य सञ्चालन केन्द्र, ड्रोन भण्डारण स्थल, विमान ह्याङ्गर तथा सैन्य पूर्वाधारलाई निशाना बनाइएको हो ।
राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित मानिएको पिकएक्स माउन्टेन क्षेत्रमा पनि चाँडै आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । त्यसको जवाफमा तेहरानले आफ्ना आणविक केन्द्रमाथि हुने कुनै पनि आक्रमणलाई युद्धको थप विस्तारका रूपमा लिइने चेतावनी दिएको छ ।
युद्धको खर्च, रणनीति र उद्देश्यलाई लिएर अमेरिकी सिनेटमा तीव्र बहस भएको छ । विपक्षी डेमोक्र्याट सांसदहरूले युद्धको औचित्य र खर्चबारे प्रशासनले स्पष्ट जवाफ दिन नसकेको आरोप लगाए ।




















