एजेन्सी । गत बुधबार भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी कैयौँ फुटबल खेलाडीहरूको मृत्यु भएको छ भने धेरै खेलाडीहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । भेनेजुएला फुटबल महासंघले शुक्रबार यस दुःखद खबरको पुष्टि गरेको हो ।
भूकम्पमा मृत्यु हुनेहरूमा भेनेजुएलाका उदीयमान १८ वर्षीय प्रतिभाशाली खेलाडी यामभर्ट बेरोटेरान समेत रहेका छन् । बेरोटेरानले केही महिनाअघि मात्र दोहामा सम्पन्न फिफा यू–१७ विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेका थिए भने उनी हालै यू–२० राष्ट्रिय टोलीमा समेत आबद्ध थिए ।
फुटबल महासंघ र सम्बन्धित क्लबहरूका अनुसार भूकम्पकै कारण अन्य २ युवा खेलाडीहरू भिक्टर पालासियोस र राजान सिजाको पनि मृत्यु भएको छ ।
यसैबिच, जुलिया एफसीका डिफेन्डर हेक्टर बेलोको परिवारमा पनि ठूलो बज्रपात परेको छ । भूकम्पको समयमा आफ्नो सानो बच्चालाई बचाउने क्रममा बेलोकी श्रीमतीको निधन भएको छ । खेलाडी बेलोले सामाजिक सञ्जालमार्फत आफ्नी श्रीमतीले बच्चाको रक्षा गर्दा ज्यान गुमाएको र अहिले छोरी र आफन्त अस्पतालमा उपचाररत रहेको जानकारी दिएका छन् ।
भूकम्पमा परेर मृत्यु हुने सयौँ नागरिकहरूको सूचीमा राष्ट्रिय स्तरका यी खेलाडीहरू पनि परेपछि भेनेजुएलाको खेलकुद क्षेत्र अहिले गहिरो शोकमा डुबेको छ ।




















