गाेरखा । थानकोटस्थित आदिनारायण भजन मण्डलको परिसरमा हिजो साँझ आयोजना गरिएको विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र नयाँ पुस्तामा शास्त्रीय संगीतप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यका साथ हिजो असार ९ गते मंगलबार दिउँसो ५ बजेदेखि सुरु भएको उक्त सांगीतिक कार्यक्रम राति अबेरसम्म चलेको थियो ।
कार्यक्रममा चर्चित पखावज वादक निशान्त सिंहले आफ्नो बेजोड सांगीतिक प्रस्तुति दिएका थिए । उनको उत्कृष्ट पखावज वादनले उपस्थित दर्शक तथा संगीतप्रेमीहरूलाई मन्त्रमुग्ध पारेको थियो ।
कार्यक्रम समापनका अवसरमा बोल्दै संगीत प्रवीण धनबहादुर गोपालीले थानकोट क्षेत्रको ऐतिहासिक र सांस्कृतिक गरिमालाई जीवन्त राख्न भजन मण्डलले निरन्तर यस्ता गतिविधि गर्दै आएको र हिजोको कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिताले थप उर्जा मिलेको बताए ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, संस्कृतिविद् तथा ठूलो संख्यामा संगीत अनुरागीहरूको उपस्थिति रहेको थियो । राति कार्यक्रम समापन भएसँगै उपस्थित सबैले यस प्रकारका शास्त्रीय कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने जोड दिएका छन् ।




















