एजेन्सी । विश्व बजारमा पुनः इरानको तेल आउन सक्ने संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उल्लेख्य कमी आएको छ । यसले मुद्रास्फीति कम हुने अपेक्षा बढाएको छ भने सरकारी ऋणपत्रको प्रतिफल पनि घटेको छ । लगानीकर्ताहरूको ध्यान अहिले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) का नयाँ अध्यक्ष केभिन वार्शको पहिलो नीतिगत बैठकतर्फ केन्द्रित भएको छ ।
तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ बुधबार प्रतिव्यारेल ८० डलरभन्दा तल झरेको छ । बुधबार तेलको भाउ अमेरिका–इरान द्वन्द्व सुरु भएयताकै सबैभन्दा न्यून स्तरमा झरेको छ । लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा बुधबार ब्रेन्ट प्रतिब्यारेल ७८ डलर २२ सेन्टमा आएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ०.९४ प्रतिशत कम हो ।
उता, न्यु योर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि १.९ प्रतिशतले घटेर प्रतिब्यारेल ७५ डलर १६ सेन्टमा किनबेच भइरहेको छ ।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार युद्ध अन्त्यसम्बन्धी सम्झौताअन्तर्गत अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । यसले विश्व बजारमा थप लाखौँ ब्यारेल तेल आपूर्ति हुन सक्ने अपेक्षा बढाएको छ । यस समाचारपछि अमेरिकामा सरकारी ऋणपत्रको प्रतिफल घटेको छ ।
त्यसको प्रभाव एसियाली बजारहरूमा पनि देखिएको छ । जापानको १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल १.५ आधार बिन्दुले घटेर २.६३ प्रतिशतमा झरेको छ भने अस्ट्रेलियाको १० वर्षे प्रतिफल पनि ५ आधार बिन्दुले घटेर ४.७८७ प्रतिशतमा आएको छ ।
एचएसबीसी बैंककी वरिष्ठ ऊर्जा विश्लेषक किम फुस्टियरका अनुसार बजारले स्टेट अफ होर्मुजबाट तेल ढुवानी पूर्ण रूपमा सामान्य हुने सम्भावना उच्च रहेको मूल्याङ्कन गरिरहेको छ । यद्यपि, यो प्रक्रिया पूर्ण रूपमा सामान्य हुन सेप्टेम्बरको अन्त्यसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।
शुक्रबार हस्ताक्षर हुने भनिएको अमेरिका–इरान सम्झौताका धेरै विवरणहरू अझै सार्वजनिक भएका छैनन् । विगत ३ महिनादेखि होर्मुजमा आवागमन ठप्प प्रायः हुँदा विश्व तेल भण्डारणमा दबाब परेको थियो । अमेरिकाको तेल मौज्दात सन् १९८३ पछिकै न्यून स्तरमा पुगेको बताइएको छ ।




















