एजेन्सी । भारतीय सङ्गीत आकाशकी उज्ज्वल नक्षत्र आशा भोसलेको आज अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा अन्त्येष्टि गरिने भएकाे छ । ९२ वर्षको उमेरमा आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको थियो ।
भोसलेको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने तयारी छ । आज बिहानैदेखि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मुम्बईस्थित निवास कासा ग्रान्डमा राखिएको छ ।
अन्तिम संस्कार अघि उनलाई राष्ट्रिय झन्डामा बेरेर सलामी समेत अर्पण गरिएको छ । उनको अन्तिम दर्शनका लागि बलिउडकर्मी, राजनीतिज्ञ र फ्यानहरूको ठुलो घुइँचो लागेको छ ।
आफ्नो ८२ वर्ष लामो गायन यात्रामा भोसलेका नाममा अतुलनीय कीर्तिमान छन् । उनले ९ पटक फिल्मफेयर अवार्डसहित १०० भन्दा बढी प्रतिष्ठित पुरस्कार जितेकी थिइन् ।
कला क्षेत्रमा पुर्याएको विशिष्ट योगदानका लागि उनलाई भारतको दोस्रो ठुलो नागरिक सम्मान पद्म विभूषणबाट समेत विभूषित गरिएको थियो । उनका हजारौँ कालजयी गीतहरूले विश्वभरका सङ्गीत प्रेमीको मन जितेका छन् ।
उनले नेपाली कालजयी गीतहरु समेत गाएका छन् ।



