एजेन्सी । इरानको संयुक्त सैन्य कमाण्डले आफ्नो नयाँ र स्वदेशमै निर्मित अत्याधुनिक हवाई रक्षा प्रणालीको प्रयोग गरी गएकाे शुक्रबार २ वटा अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ ।
इरानी सरकारी समाचार एजेन्सी इरना का अनुसार देशको दक्षिण–पश्चिमी क्षेत्रको आकाशमा उडिरहेको १ वटा एफ–१५ई र त्यसको चालक दललाई उद्धार गर्न आएको अर्को ए–१० वार्थोग विमानलाई इरानी सेनाले खसालेको हो ।
इरानी प्रवक्ता इब्राहिम जोल्फागारीले यस घटनालाई अमेरिका र इजरायलका लागि अपमानजनक क्षण भएको टिप्पणी गर्दै अब इरानको आकाशमा आफ्नो पूर्ण नियन्त्रण कायम हुने चेतावनी दिएका छन् । अमेरिकी सेन्ट्रल कमाण्डले हालसम्म विमान खसेको वा खसालिएको बारे आधिकारिक पुष्टि गरिसकेको छैन ।
यद्यपि, दक्षिण इरानमा बेपत्ता भएका १ जना अमेरिकी सैनिक अधिकारीको खोजी कार्य दोस्रो दिन पनि जारी रहेको छ । ती हराइरहेका अधिकारीलाई फेला पार्नका लागि इरानी अधिकारीहरूले करिब ६६ हजार डलरको पुरस्कार समेत घोषणा गरेका छन् ।




















