गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका जंगलमा जथाभावी लालीगुराँसको फूल टिप्न प्रतिवन्ध लगाएको छ ।
गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सिरानडाँडा, भच्चेक र कालिका मन्दिर परिसरलगायतका क्षेत्रमा पाइने लालीगुराँसका फूलहरु जथाभावी टिप्न रोक लगाएको हो ।
ढकमक्क फुलेका लालीगुराँसका फूल टिप्ने तथा हाँगाविँगा भाँच्ने कार्यले प्राकृतिक सौन्दर्यता गुम्ने भन्दै त्यस्ता कार्य नगर्न अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
“पछिल्लो समय पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेसँगै लालीगुराँसका फूलहरू टिप्ने, भाँच्ने क्रम बढेको पाइएको छ, गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “कोही कसैले त्यस्ता कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ ।”
गाउँपालिकाले स्थानीय बासिन्दा, पर्यटक तथा सरोकारवालालाई नियमको पालना गर्न आग्रह गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा सहयोग गर्न समेत अपिल गरेको छ ।




















