एजेन्सी । अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको उत्तराधिकारीका रूपमा उनका छोरा मोज्तबा खामेनीलाई चयन गरिएको छ । आफ्ना बाबुको तुलनामा ५६ वर्षीय मोज्तबा सधैँ पर्दा पछाडि रहेर काम गर्न रुचाउने व्यक्ति हुन् ।
उनले अहिलेसम्म कुनै पनि सरकारी पद सम्हालेका छैनन् भने सार्वजनिक रूपमा भाषण वा अन्तर्वार्ता पनि दिएका छैनन् । मिडियामा उनका निकै सीमित तस्बिर र भिडिओहरू मात्र सार्वजनिक भएका छन् । तर, वर्षौँदेखि इरानको सत्ता समीकरणमा उनले पर्दा पछाडिबाट ठूलो प्रभाव पार्दै आएको चर्चा निरन्तर हुँदै आएको छ ।
सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा उनलाई ‘पोसाकभित्र लुकेको शक्ति’ भनेर वर्णन गरिएको थियो । समाचार एजेन्सी एपीका अनुसार उनलाई सत्ताभित्र एक सक्षम र शक्तिशाली पात्रका रूपमा हेरिन्छ ।
यद्यपि, उनको छनोट विवादरहित भने पक्कै छैन । सन् १९७९ मा राजतन्त्रको अन्त्य गर्दै स्थापना भएको इस्लामिक गणतन्त्रको मुख्य विचारधारा नै सर्वोच्च नेता वंशानुगत रूपमा नभई उसको धार्मिक हैसियत र प्रमाणित नेतृत्व क्षमताका आधारमा छनोट हुनुपर्छ भन्ने हो ।
अली खामेनीले आफ्नो शासनकालमा भावी नेतृत्वका बारेमा कहिल्यै प्रस्ट रूपमा बोलेका थिएनन् । सर्वोच्च नेता छनोट गर्ने निकाय एसेम्बली अफ एक्सपर्ट्सका एक सदस्यले २ वर्षअघि मात्रै अली खामेनीले आफ्ना छोरालाई भावी नेतृत्वको उम्मेदवार बनाउने विचारको विरोध गरेको बताएका थिए । तर, यस्ता अनुमानहरूबारे उनले सार्वजनिक रूपमा कहिल्यै सम्बोधन गरेका थिएनन् ।
मोज्तबा खामेनीको जन्म सन् १९६९ सेप्टेम्बर ८ मा उत्तरपूर्वी सहर मशादमा भएको हो । खामेनीका ६ सन्तानमध्ये उनी दोस्रो हुन् । उनले तेहरानको धार्मिक अलावी स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेका थिए । इरानी सञ्चारमाध्यमहरूका अनुसार १७ वर्षको उमेरमा मोज्तबाले इरान-इराक युद्धका क्रममा केही छोटो अवधिका लागि सेनामा पनि सेवा गरेका थिए । उक्त ८ वर्षे रक्तपातपूर्ण युद्धले इरानी सत्तालाई अमेरिका र पश्चिमा राष्ट्रहरूप्रति थप सशंकित बनाएको थियो, जसले त्यसबेला इराकलाई समर्थन गरेका थिए ।
सन् १९९९ मा मोज्तबा आफ्नो धार्मिक अध्ययनलाई निरन्तरता दिन शिया धर्मशास्त्रको महत्त्वपूर्ण केन्द्र मानिने पवित्र सहर कोम पुगे । रोचक कुरा के छ भने, त्यति बेलासम्म उनले धर्मगुरुले लगाउने पोसाक लगाएका थिएनन् । ३० वर्षको उमेरमा मदरसा भर्ना हुने उनको निर्णय आफैंमा असामान्य थियो, किनकि सामान्यतया यस्तो अध्ययन सानै उमेरमा सुरु गरिन्छ ।
मोज्तबा अझै पनि मध्यम स्तरका धर्मगुरु हुन्, जसले उनलाई सर्वोच्च नेता बन्न केही प्राविधिक बाधा खडा गर्न सक्थ्यो । तर, पछिल्ला केही दिनयता इरानको सत्ता निकट सञ्चारमाध्यम र अधिकारीहरूले उनलाई उच्च धार्मिक पद ‘आयतोल्लाह’ भनेर सम्बोधन गर्न थालेका छन् । पर्यवेक्षकहरूका अनुसार यो उनको धार्मिक हैसियत बढाउने र उनलाई एक योग्य नेताका रूपमा प्रस्तुत गर्ने सुनियोजित प्रयास हो ।
मदरसा प्रणालीमा आयतोल्लाह को पदवी पाउनु र उच्च स्तरका कक्षाहरू पढाउनुलाई व्यक्तिको विद्वता र ज्ञानको सूचक मानिन्छ, जुन भावी नेता छनोटका लागि आवश्यक पूर्वसर्तहरूमध्ये एक हो । यद्यपि, इरानमा यस्तो अभ्यास नौलो भने होइन । सन् १९८९ मा दोस्रो सर्वोच्च नेता बनेपछि अली खामेनीलाई पनि रातारात आयतोल्लाहमा बढुवा गरिएको थियो ।
मोज्तबाको नाम पहिलो पटक सन् २००५ को राष्ट्रपतीय निर्वाचनका बेला सार्वजनिक रूपमा विवादमा तानिएको थियो । उक्त चुनावमा कट्टरपन्थी पपुलिस्ट नेता महमुद अहमदिनेजाद विजयी भएका थिए ।
सुधारवादी उम्मेदवार मेहदी करौबीले खामेनीलाई लेखेको खुला पत्रमा मोज्तबामाथि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) र बासिज मिलिसियाको प्रयोग गरेर चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए । अहमदिनेजादलाई जिताउन धार्मिक समूहहरूलाई पैसा बाँडिएको आरोप थियो । ४ वर्षपछि सन् २००९ मा पनि मोज्तबाले यस्तै आरोपको सामना गर्नुपर्यो ।
अहमदिनेजादको पुनर्निर्वाचनपछि देशभर ग्रीन मुभमेन्टका नाममा विशाल प्रदर्शनहरू भएका थिए । केही प्रदर्शनकारीहरूले मोज्तबाले आफ्ना बाबुलाई प्रतिस्थापन गर्न सक्ने सम्भावनाको विरोधमा सडकमै नाराबाजी समेत गरेका थिए । तत्कालीन उपगृहमन्त्री मुस्तफा ताजजादेहले उक्त नतिजालाई चुनावी कू को संज्ञा दिएका थिए । पछि उनलाई ७ वर्षको जेल सजाय सुनाइयो, जसलाई उनले मोज्तबा खामेनीको प्रत्यक्ष चाहना भनेर दाबी गरेका थिए ।
सन् २००९ को चुनावपछि २ सुधारवादी उम्मेदवार मीर-हुसेन मौसवी र मेहदी करौबीलाई घरमै नजरबन्द गरिएको थियो । बीबीसी न्युज पर्सियनका अनुसार सन् २०१२ को फेब्रुअरीमा मोज्तबाले मौसवीलाई भेटेर विरोध प्रदर्शन छोड्न दबाब दिएका थिए ।
अब इरानको नवनियुक्त सर्वोच्च नेताका रूपमा मोज्तबाले आफ्ना बाबुका कट्टरपन्थी नीतिहरूलाई नै निरन्तरता दिने धेरैको अपेक्षा छ । अमेरिका-इजरायल आक्रमणमा आफ्ना बाबु, आमा र श्रीमतीसमेत एकैपटक गुमाएका उनी पश्चिमा दबाबसामु झुक्ने सम्भावना निकै कम रहेको विश्लेषकहरू बताउँछन् । तर, उनीसामु इस्लामिक गणतन्त्रको अस्तित्व जोगाउने र चरम राजनीतिक तथा आर्थिक सङ्कटबाट देशलाई पार लगाउन आफू योग्य छु भनेर जनतालाई विश्वस्त पार्नुपर्ने पहाडजस्तो चुनौती छ । उनको नेतृत्व क्षमताको परीक्षण अझै हुन बाँकी छ ।
देशको सर्वोच्च पद वंशानुगत प्रणालीतर्फ धकेलिएको भन्ने बुझाइले इरानी जनतामा असन्तुष्टि थप बढाउन सक्ने जोखिम उत्तिकै छ । अर्कोतर्फ, मोज्तबा अहिले विश्वकै सबैभन्दा ठूलो सुरक्षा खतरातर्फ धकेलिएका छन् । इजरायलका रक्षामन्त्रीले गत हप्ता मात्रै आयतोल्लाह अली खामेनीको उत्तराधिकारी जोसुकै चुनिए पनि ऊ इजरायलको हिटलिस्टमा हुने सीधै चेतावनी दिएका छन् ।


