गोरखा । महाशिव रात्रीको पूर्व सन्ध्यामा गोरखा बजारमा रहेको शिव मन्दिर सरसफाई गरिएको छ । सरसफाईमा सदरमुकाममा रहेको द अन्नपुर्ण स्कुलका बालबालिकाहरुको सहभागी भएका थिए ।
विद्यालयका कक्षा ४, ५ र ६ मा अध्ययनरत विद्यार्थीहरूले मन्दिर र त्यस वरपरको क्षेत्रमा सरसफाई गरी समुदायलाई स्वच्छताको सन्देश दिएका हुन् । शिवरात्रीमा भक्तजनहरूको चाप बढ्ने हुँदा मन्दिरलाई सफा र व्यवस्थित राख्न विद्यार्थीहरूले स्वस्फूर्त रूपमा यो कार्य गरेको सञ्चालक किरण ढकालले जानकारी दिए ।
विद्यार्थीहरूले मन्दिरको मुख्य प्राङ्गण, प्रवेशद्वार र आसपासका सडकहरूमा थुप्रिएका फोहोर र प्लाष्टिकजन्य वस्तुहरू संकलन गरी उचित व्यवस्थापन गरेका थिए । साना बालबालिकाहरूको यस्तो सेवाभाव देखेर स्थानीय भक्तजन र मन्दिर व्यवस्थापन समितिले समेत प्रशंसा गरेका छन् ।
विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै सामाजिक उत्तरदायित्व र आफ्नो धर्म(संस्कृतिको जगेर्ना गर्ने शिक्षा दिन यो सरसफाईको कार्यक्रम आयोजना गरिएको सञ्चालक ढकालले बताए ।
यस कार्यले विद्यार्थीहरूमा सानै उमेरदेखि सामाजिक सेवाको भावना जागृत गराउनुका साथै वातावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास ढकालले गरे ।




















