गोरखा । शहिद लखन गाउँपालिकाको बुंकोटमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर यही पुस २६ र २७ गते हुने भएको हो ।
निःशुल्क मुटु स्वास्थ्य शिविर सम्भव नेपालको आयोजना, शहिद लखन गाउँपालिकाको समन्वय र त्रिभूवन विश्व बिधालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमाडौंको प्राविधिक सहयोग र जयन्ती मेमोरियल ट्रष्टको सहयोगमा हुन लागेको कार्यक्रम समन्वय कर्ता परशुराम पन्तले जानकारी दिए ।
उनका अनुसार शिविरमा त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका बरिष्ट मुटुरोग विशेषज्ञ चिकित्सहरुको टोलीले मुटु रोगको परिक्षण हुने छ ।
शहिद लखन गाउँपालिका–७ को बुंकोटमा रहेको स्वास्थ्य चौकीमा हुने शिविरमा पालिका र वरपर रहेका सबैले सम्र्पक राखेर स्वास्थ्य लाभ लिन आयोजक संस्थाले अनुरोध गरेको छ ।
शिविर अवधिभर करिब ८०० जनाले स्वास्थ्य जाँच गराउने अनुमान गरिएको पनि समन्वय कर्ता पन्तले जानकारी दिए । उनका अनुसार शिविरमा रोग देखिएकाहरुलाई निःशुल्क औषधीको समेत ब्यवस्था गरिएको छ ।
यता शहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले शिविरको पुरै तयारी पुरा भएको जानकारी दिएका छन् ।




















