गाेरखा । क्रिकेटर मिनष थापाको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका-४ स्थित भित्री सडक खण्डमा दुर्घटनामा परी २७ वर्षीय थापाको ज्यान गएको हो ।
थापा कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब १२:४५ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका छन् । कोशी प्रदेशबाट उनले अन्य फ्रेन्चाइज लिगसमेत खेलेका छन् ।




















