काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीको नाममा ‘फेक अकाउन्ट’ बनाउनेमाथि साइबर ब्युरोले अनुसन्धान थालेको छ । प्रधानमन्त्री कार्कीको नाममा एक्स (पहिले ट्वीटर)मा ‘सुशीला कार्की अफिसियल’ नामक नक्कली आइडीमाथि साइबर ब्युरोले अनुसन्धान थालेको हो ।
बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारले उक्त अकाउन्टमाथि छानबिनका लागि पत्राचार गरेको थियो । यसको छानबिन गरी बन्द गर्ने तयारी भइरहेको साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीले बताए । उनले भने, ‘प्रधानमन्त्री कार्यालयबाट पत्र आएपछि सो आइडी बन्द गर्ने प्रक्रियामा छौं । सायद छिट्टै बन्द हुन्छ ।’
कानुन व्यवसायीहरु भने विद्युतीय कारोबार ऐन-२०६३ को दफा ४७ अन्तर्गत कारबाहीको दायरामा लैजान सकिने बताउँछन् । अधिवक्ता प्रवीण भट्टका अनुसार कसैको नाममा नक्कली अकाउन्ट खुलाएमा विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत मुद्दा चालउन सकिन्छ । उनले भने, ‘फेक आइडी भनेर उल्लेख नगरे पनि घटनाको प्रकृति हेरेर त्यसअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिन्छ ।’
विद्युतीय कारोबार ऐनको दफा-४७ मा अनुसार यस्ता घटनामा दोषी ठहर भएमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।




















