रौतहट । रौतहटमा सडकमा भेटिएको बन्द सुटकेसभित्र महिलाको शवकाे पहिचान खुलेकाे छ ।
शव रौटहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइती भएकी २६ वर्षीया रुवी शाहको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राजु कार्कीले जानकारी दिए ।
शाहको घर भारतको मुजफ्फरपुर रहेको खुल्न आएकाे छ । मृतक शाह गएकाे १ महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएको समेत खुल्न आएकाे सूचना अधिकारी कार्कीले बताए ।
उनको हत्या गरी शव सुटकेसमा राखेर फालिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । गएराति गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो ।
तस्बिर : सामाजिक सञ्जाल




















