कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाकाे एक सेकुवा कर्नरमा कार्यरत १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या गरिएको छ ।
बर्दगोरिया गाउँपालिका–१ स्थित ’राजधानी सेकुवा एण्ड म:म सेन्टर’मा कार्यरत सोही गाउँपालिका–३ की याचना सेजवालको हत्या भएको कैलाली प्रहरीले जनाएकाे हो ।
प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजकुमार सिंहका अनुसार शनिबार बिहान करिब १० बजेतिर सेजवालमाथि सोही सेकुवा सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटलमा लगिएकोमा उपचारकै क्रममा उनको ज्यान गएको सूचना अधिकारी सिंहले जानकारी दिए ।
प्रहरीले चक्कु प्रहार गर्ने साउदलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा दुवैजना सोही होटलमा काम गर्ने गरेको खुलेको छ ।
हत्याको कारणबारे भने अझै खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















