गोरखा । नयाँ बर्षको पूर्व सन्ध्यामा गोरखा सदरमुकाममा खाना महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा ‘दोस्रो रैथाने खाना महोत्सव २०८१’ हुन लागेको हो ।
गोरखा नगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्वक भएको उक्त महोत्सव २०८१ चैत्र २६ गतेदेखी २०८२ बैशाख २ गतेसम्म सञ्चालनमा आउने गोरखा होटल ब्यवसायी संघका सचिव सुमन श्रेष्ठले जानकारी दिए ।
महोत्सवको बारेमा जानकारी दिनेगरी आयोजित पत्रकार सम्मेलनमा सचिव श्रेष्ठले अब आउने नेपाली नयाँ बर्षमा गोरखामा जाउँभन्ने पार्ने उद्वेश्य सहित महोत्सवको आयोजना गरेको बताए ।
अंग्रेजी नयाँ बर्षमा पोखरा गए जस्तै नेपाली नयाँ बर्षमा आन्तरिक तथा बाह््य पर्यटकलाई गोरखा ल्याउने उद्वेश्य सहित महोत्सवको आयोजना गरीएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
गोरखा नगरपालिका–६ हरमटारीको खेलकुद मैदानमा हुने उक्त महोत्सवमा गोरखाको रैथाने खाना (जाती विशेष अनुसार) सहितको जिल्ला भित्र रहेको विभिन्न जातीको धर्म तथा भेषभूषाको पहिचान दिने, गोरखाको बिरता र एकता झल्काउने कार्यक्रमका साथै कृषि प्रदर्शन र मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरीएको छ ।
८ दिनसम्म चल्ने महोत्सवमा १४० वटा स्टल हुने र ४३ वटा स्टल रैथाने खाना राख्नकोलागी निःशुल्क उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर करिब ३७ लाख खर्च हुने अनुमान गरेको संघले पहिलो महोत्सव २०८० सालको चैत्र मा सडक खाना महोत्सवको रुपमा मनाएको थियो ।


