गोरखा । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट गोरखाका ३ जना सम्मानित भएका छन् ।
सम्मान सहित नगद पुरस्कार पाउनेहरुमा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ र विज्ञान प्रविधितर्फ हरिराम श्रेष्ठ छन् ।
उनीहरु सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।
अध्यक्ष अधिकारीलाई मानवता प्रवद्र्वधनको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो भने श्रेष्ठ द्ववलाई किर्तिमानी आरोही र विज्ञान प्रविधितफ उत्कृष्ठ काम गरेको भन्दै नगद ५ लाख सहित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेको हो ।
नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, बैज्ञानिक खोज, अनुसन्धान तथा बिकासको क्षेत्रमा उल्लेखनिय योगदान दिएका प्रतिभाशाली ब्यत्तीहरुलाई पुरस्कार र सम्मान दिने घोषणा अनुरुप राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नाम सार्वजनिक गरेको थियो ।
आज पुरस्कृत हुनेहरुमा टेलिमेडिसिनतर्फ डा.छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा (मोरङ), विज्ञान प्रविधितर्फ डा.आभास मास्के छन् ।
त्यस्तैगरी, चिकित्सा क्षेत्रतर्फ डा.ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) लाई पुरस्कार सहित सम्मान गरीएको हो ।
नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त १ लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको थियो ।
उक्त कोषबाट प्रत्येक वर्ष २ जना प्रतिभालाई जनही ५ लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । २०७६ सालमा पहिलो पटक २ विधाका ३ प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।
अहिले ५ वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीले समाजमा सकारात्मक काम गर्नेलाई राज्य र समाजले सम्मान गर्नुपर्नेमा जोड दिए ।



